बागलुङ, ७ जेठ– भीमापोखरा युवा क्लब (विवाइसी) बागलुङ र फेयरमेड फाउण्डेसन नेपाल गण्डकी प्रदेशले बागलुङका नगरपालिका तथा गाउँपालिका तहमा कोरोना सक्रमण नियन्त्रणका लागि विभिन्न सामाग्री सहयोग गरेको छ ।
जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले ती सामग्री स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलाई हस्तान्तरण गरे । शुक्रबार आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा ढुंगानाले संकटका बेला सहयोगी संस्थाको सानो सहयोगबाट पनि धेरै मानिसको ज्यान बचाउन सकिने बताए ।
यो अभियानमा लागेर मानव स्वास्थ्यमा योगदान गरेकोमा दुवै संस्थालाई ढुंगानाले धन्यवाद दिए । फाउण्डेसनले बागलुङको पश्चिम क्षेत्रमा सामुदायिक स्वास्थ्य सुधार कार्यक्रममार्फत सुरक्षित सुत्केरी कार्यक्रम, वर्थिङ सेन्टर निर्माण लगायतको काममा काम गर्दै आएको छ ।
फेयरमेडले १० हजार थान मेडिकल मास्क, २ सय ५० थान केएन ९५ मास्क, ५ सय जोडी पन्जा, ५ सय स्थान बुट, ३० लीटर सेनिटाइजर, ५० थान पल्स अक्सिमिटर, ५० थान होम आइसोलेसन किट्सलगायत १० थरी सामग्री सहयोग गरेको परियोजना व्यवस्थापक गणेश बरुवालले जानकारी दिए ।
सामग्री ग्रहण गर्दै स्वास्थ्य कार्यालय प्रमुख गुरौले अत्यावस्यक स्थानमा सामग्री पठाउने बताए । उनले महामारी नियन्त्रण अभियानमा यस्ता सहयोगले थप राहत मिलेको बताए । उनले ती सामग्री सदुपयोग हुने समेत जानकारी दिएका थिए ।





