
पोखरा, ८ जेठ – बागलुङबाट निर्वाचित एमाले गण्डकीका सांसद इन्दलाल सापकोटाले राजनीति कुनै पनि विधि सिद्धान्तमा नहिँडेको टिप्पणी गरेका छन् । ‘राजनीति कुनै विधि, सिद्धान्त, नीतिमा रहेन, यहाँ जालझेल, षडयन्त्र र अपराध मात्रै छ’, उनले भने ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पुन संसद विघटनको बाटोतिर अग्रसर भएको सापकोटाले आरोप लगाए । ‘प्रधानमन्त्री संसद विघटनतिर जान खोज्नुभएको हो, जसपाका नेतालाई मिसाए’, उनले भने, ‘कसैको सरकार नबनोस्, मेरै हातबाट निर्वाचन होस् भन्ने प्रधानमन्त्रीमा देखियो ।’
संविधानको धारा ७६ को उपधारा ५ मा जान प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने भएपनि त्यसो नगरेको उनको टिप्पणी छ । गण्डकी प्रदेशका एक मात्र माधव नेपाल पक्षका सांसद सापकोटा नेकपा एमाले बाग्लुङका अध्यक्ष समेत हुन् । माधव नेपाल पक्षका प्रतिनिधि सभाका सांसदले कारबाही भोग्न तयार भएर नै कांग्रेस सभापती शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको उनको भनाइ छ ।
‘माधव नेपाल कारबाही भोगेको मान्छे हो, जिम्मेवारी खोसिएका छन्, फेरि कारबाही खान तयार भएर नै उहाँहरुले देउवालाई सघाउनुभएको जस्तो लाग्छ मलाई’, उनले भने ।
संविधानको धरा ७६ उपधारा ५ अनुसार सरकार गठन गर्दा पार्टीको ह्विप नलाग्ने र शुक्रबार माधव नेपाल पक्षले लिएको निर्णयकै कारण पार्टीले कारबाही गर्न नमिल्ने उनको भनाइ छ । ‘यो धारा दलीय प्रणालीको होइन, जसले बहुमत पु¥याउँछ उही सांसदलाई प्रधानमन्त्री बनाउने व्यवस्था यसमा छ’, उनले भने, ‘यसमा संसदीय दलको ह्विप लाग्दैन ।’
माधव नेपाल पक्षले कर्णाली, प्रधानमन्त्री ओलीले लिएको विश्वासको मत र राष्ट्रिय सभाको उपनिर्वाचन जस्ता ठाउँमा माधव नेपालले प्रतिक्रिया दिएपनि प्रधानमन्त्रीले नै सम्बोधन गर्न नखोजेको उनले आरोप लगाए ।
‘केपी ओली जेठ २ को निर्णयमा फर्किएको भए सक्किहाल्थ्यो, उहाँले पार्टी मिलाउन चाहनुभएन’, उनले भने, ‘त्यसो गरेको भए सरकार पनि परिवर्तनको प्रयास हुन्थेन, बहुमत सहित ओलीले नै चलाउँथे ।’
प्रतिनिधि सभामा विपक्षी उम्मेदवारलाई समर्थन गर्न हस्ताक्षर गरेको माधव नेपाल पक्षले गण्डकीमा भने के गर्ने निर्णय गरेको छैन । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ अन्तिममा विश्वासको मत लिनुपर्नेछ । एमालेको २७ सांसद र स्वतन्त्र राजीव गुरुङ ‘दीपक मनाङे’सहित गुरुङको पक्षमा २८ मत छ । गुरुङले विश्वासको मत पाउन प्रदेश सभाको बहुमत ३१ मत चाहिन्छ । त्यसका लागि विपक्षी ३ मत उनले खोजेका छन् ।
एमालेकै नेपाल पक्षीय सांसद सापकोटाले अब फ्लोर क्रस गर्न सक्ने सम्भावना बढेको छ । यसबारे अहिलेसम्म निर्णय नलिएको सापकोटाले बताए । ‘म त नेताहरु मिल्दिए हुन्थ्यो, माधव नेपाललाई मात्र गाली गरेर केही हुँदैन भनेको छु’, उनले भने, ‘गण्डकीमा अब के गर्ने निर्णय विश्वासको मत दिनेबेलासम्म निर्णय आउँछ ।’
कोरोना महामारीका बेला प्रधानमन्त्रीले गाईजात्रा देखाएको बताउँदै उनले संविधान र लोकतन्त्र जोगाउनुपर्ने अवस्था आएको बताए । ‘संविधानको रक्षा भइदिएर गलत मान्छे खेल्न नपाए हुन्थ्यो भनेको हो’, उनले भने, ‘यस्तो गाइजात्राले राजनीतिकर्मी हुँ भन्न पनि लाज लाइसक्यो ।’
सांसद सापकोटासंग जेठ ७ साँझमा गरिएको कुराकानी ।





