शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरोकारवालाको एकै स्वर : ‘संस्थागत आइसोलेसन नै प्रभावकारी’

सरोकारवालाको एकै स्वर : ‘संस्थागत आइसोलेसन नै प्रभावकारी’

धौलागिरी अस्पतालमा अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटरको प्रयाप्त व्यवस्थापन गर्न र बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालमा स्तरवृद्धि गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण ।


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ८ २०७८, शनिबार

बागलुङ, ८ जेठ– बागलुङका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रमुखले होम आइसोलेसनभन्दा संस्थागत आइसोलेसन व्यवहारिक भएको भन्दै संस्थागत आइसोलेसन निर्माण र बिरामीको व्यवस्थापनलाई दिएका छन् । शुक्रबार जिल्ला समन्वय समितिको समन्वयमा भर्चुअल माध्यामबाट बसेको बैठकमा सहभागी जनप्रतिनिधि तथा कर्मचारीले व्यवहारिकता हेरेर बिरामीको उपचार व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।
‘कोभिड पोजेटिभ आएका बिरामीको अवस्था हेरेर होम आइसोलेसन, संस्थागत आइसोलेसन वा अक्सिजन सहितको आइसोलेसन राख्ने भन्नेमा निधो गर्ने भनेका छौं,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘होम आइसोलेसनभन्दा संस्थागत आइसोलेसन व्यवहारिक भएको सबैको अनुभवले बतायो ।’ बैठकले धौलागिरी अस्पतालमा अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटरको प्रयाप्त व्यवस्थापन गर्न र बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालमा स्तरवृद्धि गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
कोरोना महामारीले जिल्लाभर ठूलो प्रभाव पारेको भन्दै बैठकले शंकास्पद बिरामीको जाँच र खोजपड्ताललाई प्रभावकारी हिसाबले तीव्र बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । विवाह र भोजभतेरका कारण संक्रमण बढेको भन्दै बैठकले स्वास्थ्यका मापदण्डको प्रयोगमा कडाइ गर्ने निर्णयसमेत गरेको छ । ज्वरो आएका, रुघा लागेका वा शरीर दुख्नेजस्ता लक्षण देखिएकालाई तत्काल परीक्षण गर्ने र रिपोर्ट नआउने बेलासम्म क्वारेन्टाइनमा राख्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा संघीय तथा प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्ला संकट व्यवस्थापन समितिका संयोजक, स्वास्थ्य कार्यालयका प्रमुख र अस्पतालका प्रमुख डाक्टरहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->