नवलपुर, ९ जेठ– नेपाली सेनाको टोली बोकेर काठमाण्डौतर्फ जाँदै गरेको बुलेरो जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आईतवार बिहान नवलपुरको कावासोतीमा भे१ज ३८४ नम्वरको बुलेरो जीप दुर्घटना भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सल्यानबाट काठमाण्डौ जाँदै गरेको उक्त बुलेरो जीप दुर्घटना हुँदा श्री सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना घाईते भएको र उनीहरुलाई कावासोती स्थित नवलपुर अस्पतालमा उपचारका लागि पुर्याएको प्रहरीले जनायो ।
घाईते हुनेमा धादिङ धुन्चे नगरपालिका वडा नं. २ का ४० बर्षिय हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ११ का ३१ बर्षिय प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका वडा नं. १ बस्ने २८ बर्षिय मंगल वि.क., काभ्रेकै बनेपा नगरपालिका वडा नं. ८ बस्ने ३३ बर्षिय मोची शेखर मगराती, तनहुँकै खैरेनीटार वडा नं. ६ का ३२ बर्षिय सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका वडा नं. २ का ३२ बर्षिय वकासी हरिचन्द्र सिटौला छन् ।
जीपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ । घाईते अधिकांशको टाउको, ढाड, हात–खुट्टामा चोट लागेको भएपनि अवस्था सामान्य रहेको जनाईएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





