बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संक्रमण घटाउन बडिगाडमा कडाइ

संक्रमण घटाउन बडिगाडमा कडाइ

गाउँपालिकाले ३ वटा एम्बुलेन्ससमेत तयारी बनाएर राखेको छ ।


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ९ २०७८, आइतबार

बागलुङ, ९ जेठ– कोरोना संक्रमणलाई उपचारमार्फत निको पार्ने र थप फैलन नदिन बडिगाड गाउँपालिकाले रणनीति बनाएको छ । कोरोनाको दोस्रो लहरबाट बडिगाड सबैभन्दा बढी प्रभावित पालिका हो । यहाँ ९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि उच्च छ ।
बिशेषगरी भोजभतेर गरेका स्थानमा बढी संक्रमित भएकोले ती स्थानका सबै नागरिकको पीसीआर गरिसक्ने अभियान चलाएको स्वास्थ्य शाखा प्रमुख चुडामणी कंडेलले बताए । सबैको पीसीआरसँगै अनावश्यक प्रवेशलाई पूर्ण रुपमा रोक लगाउने निर्णय पालिकाले गरिसकेको छ । पालिका प्रवेश गर्ने मुख्य नाकाहरुमा अस्थायी प्रहरी पोष्ट राखेरै कडाइ गरिएको हो । गुल्मी, गलकोट र बुर्तिवाङतर्फका नाका बन्द गरेर आउजाउमा कडाइ गरिएको कँडेलले बताए ।
पालिकाले खोजी उद्धारसहित उपचार पद्धतिलाई पनि तीव्र बनाएको छ । घर घरमा पुगेर संक्रमित खोजपड्ताल गर्ने, संक्रमण भएमा उपचारको पहुँचमा ल्याउने काम समेत गरेको हो । ‘अहिले घर घरमा संक्रमितको खोजी भैरहेको छ, सामान्य बिरामी भएपनि उपचार र पीसीआर गराउने काममा लागेका छौं,’ कंडेलले भने, ‘आउजाउ ठप्प पारेर खोजपड्ताल गरिएकोले साता दिनमै संक्रमण नियन्त्रणमा आउनेछ ।’
झुलेडाँडामा २÷३ दिन बिराएर पीसीआर भइरहेको छ । यहाँका ६८ जना अहिले पनि सक्रिय संक्रमित छन् । लक्षण देखिएका र अन्य प्रकारका बिरामी समेतलाई उपचारको दायरामा ल्याइएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । ‘अधिकांशको पीसीआर गराउने, सामान्य लक्षण देखिए तत्काल आइसोलेसनमा लैजाने काम भइरहेको छ,’ पाइजाले भने, ‘जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेवकले रातदिन नभनी काम गरेर नियन्त्रणको प्रयास भै.इरहेको हो ।’
यहाँको त्रिभूवन माविमा २० र वडा नं. ५ को कराँते प्रशिक्षण केन्द्रमा १० गरी ३० वटा अक्सिजनसहितको बेड समेत सञ्चालनमा ल्याएको छ । ती बेडमा बिरामीलाइ राखेर उपचार भइरहेको छ । जटिल समस्या आएमा धौलागिरि अस्पताल पठाउने काम भएको कंडेलले बताए ।
शाखाले एक डाक्टर, १ हेल्थ असिस्टेन्ट, २ जना नर्ससहितको जनशक्ति निरन्तर खटाएको छ । ग्वालीचौर हेल्थपोस्टमा नियमित बिरामीको उपचार भइरहेको छ । गाउँपालिकाले ३ वटा एम्बुलेन्ससमेत तयारी बनाएर राखेको छ ।
कार्यालयका प्रमुख सुरज गुरौसहितको टोलीले संक्रमण फैलिएकोमध्ये बडिगाड र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकामा स्थलगत निरिक्षण पनि गरेको छ । ‘आवश्यक औषधि, स्वास्थ्य र सुरक्षा सामाग्री अभाव हुन दिएका छैनौं,’ गुरौंले भने, ‘विकास निर्माणभन्दा स्वास्थ्य सुरक्षामा लगानी बढाउनुपर्ने देखिन्छ ।’
पालिकाले सामाजिक सञ्जाल प्रयोग गरेर सहयोग संकलन गरिरहेको छ । ‘प्रवासमा बसेका दाजुभाइले सहयोग गरेर राहत कोषमा लगाएका छन्’ अभियानका सदस्य राजन पाइजाले भने, ‘आएको रकमलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्री खरिद, बिरामीको उपचार र मृतकको राहतमा लगाएका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->