बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मकै जोगाउन किसानको बाँदर हेर्ने पालो

मकै जोगाउन किसानको बाँदर हेर्ने पालो


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ९ २०७८, आइतबार

बागलुङ, ९ जेठ– मकै लगाएको महिना दिन नहुँदै जैमिनी नगरपालिका १, कुश्मीशेराको ठुलाखेत फाँटैभरीका विरुवामा गवारोको समस्या देखियो । कृषि प्राविधिकको सहयोगमा विषादीको प्रयोग गरेर किसानले बिरुवा बँचाए ।
मकैको बीउ खोस्रेर बाँदरले खाँदा पहिलो सात दिन किसानलाई बीउ जोगाउनै गाह्रो भयो । उम्रिएको मकैमा गवारो लागेपछि किसानको बास खेतमै भयो । बिरुवा डेढ महिनाका भए अहिले मकै दोस्रो पटक गोडमेल गरेर मल दिने बेला भएको कृषि प्राविधिक रविन्द्र शर्माले बताए । उनका अनुसार किसानलाई अब बाँदरको चिन्ता छ ।
बढ्दै गरेको मकैको डाँठ भाँचेर बाँदरले सत्यनाश गर्छ । डाँठ गुलियो हुने भएकाले फल नलाग्दै पनि ठुलाखेतको फाँटमा बाँदरको बिगबिगी हुन्छ । जैमिनी नगरपालिकाले मकै विकास कार्यक्रम बनाएर यहाँको १ हजार हेक्टर जमिनमा मकै लगाएको छ । चार वडामा विस्तार गरिएको मकै कलस्टर कार्यक्रमअन्तर्गत कुश्मीशेरामा २५० हेक्टर जमिनमा मकै लगाइएको हो ।
छिस्ती, जैदी र अर्जेवाका मकै उत्पादन राम्रो हुन्छ । त्यहाँ पनि बाँदरदेखि गवारो र दुम्सीसम्मको समस्या रहेको शर्माले बताए । किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन बढाउने योजना नगरपालिकाको छ ।
किसान र नगरको साझेदारीमा खरिद भएको बिउँले बिरुवा त दियो तर फल लाग्न नपाउँदै बाँदरले लुछाचुँडी गर्न थालेपछि किसानले बाँदर हेर्ने पालो लगाएका छन् । मकै क्लस्टर उपभोक्ता समितिले सार्वजनिक सूचना गरेर बाँदर हेर्न भनेको छ । ‘एक पटक बाँदरको हुल पस्यो भने फाँट रित्याउँछ, अबको डेढ महिना बाँदरको गोठालै बस्नुपर्छ’, उपभोक्ता समितिका अध्यक्ष कुश्मराज आचार्यले भने, ‘फाँटमा मकै लगाएका सबै किसानलाई सातामा दुई पटक पालो पर्नेगरी सूची बनाएका छौं ।’ मकैको राम्रो उत्पादन हुने फाँटलाई तीन क्लस्टरमा बाँडेर सोही अनुसारको पालो तोकिएको आचार्यले बताए ।
‘आफ्नो खेती जोगाउनु छ, मात्रै पुछारमा हुनेको नासिने सिरानमा हुनेको जोगिने नहोस् भन्ने हो’ उपभोक्ता समितिका सचिव बाबुराम शर्मा भन्छन्, ‘पालो परेको दिन सबै किसान खेतमा पुग्नै पर्छ, अन्यथा उपभोक्ता समितिले कारवाही गर्छ ।’ मकै हेरालो जाने किसानको खाजा खर्च उपभोक्ता समितिले उपलव्ध गराउने भनेको छ ।
बाँदर हेर्नकै लागि यहाँका किसानले फाँटको पुछारमा बाँदर गोठ बनाउन थालेका छन् । घामपानी ओतिने गरी तीनवटै क्लस्टरमा बाँदरगोठ बनाउन थालेको अगुवा किसान गोपाल आचार्यले बताए । ‘बाँदरको हुल एक्लैले धपाउन कठिन हुन्छ, हेर्न जानेको काम गाउँलेलाई खबर गर्ने हो’, उनले भने ‘मकै नभित्राउने बेलासम्म सबै किसानलाई बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सतर्क रहन सूचना गरेका छौं ।’
ठुलाखेत लगायतका जैमिनीका मकै फल्ने फाँटहरुका नजिक खोला र वनजंगल रहेकाले बाँदरको आतंक धेरै हुने गरेको छ । बस्तीभन्दा तल्लो भागमा रहेका ठुलाखेत फाँट, सुम्सा फाँट, बेलबगरको फाँट र चौरको फाँटलगायतमा मकै उत्पादन राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->