
बागलुङ, ९ जेठ– एउटै घरमा बस्ने १५ जनामा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले टोलबासीको पीसीआर गराएको छ ।
बागलुङ नगरपालिका वडा नं. २ को श्रीनगरटोलमा साताअघि एकैघरका १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्ला स्वास्थ्य र बागलुङ नगरपालिका स्वास्थ्य शाखाको सहभागितामा पीसीआर गराइएको वडा नं. २ का सदस्य अर्जुन घिमिरेले जानकारी दिए ।
१५ जना संक्रमण देखिएका घरधनी भने गम्भिर बिरामी भएर पोखरा उपचारका लागि गएका छन् । उक्त घरमा बस्ने १८ जनाको पीसीआर गर्दा १५ जनाको पोजेटिभ देखिएको थियो । शनिबार उक्त टोलका हरेक घरबाट एकएक जनाको पीसीआर गरेर सुरक्षित बस्न लगाइएको छ ।
वडा नं. ३ मा पनि लक्षणसहितका बिरामी देखिएपछि पीसीआर गराइएको छ । सार्वजनिक क्षेत्रमा काम गर्नेहरुमा संक्रमण भएमा टोलभरीनै फैलने भएकोले शंकास्पदलाई पीसीआरमा बोलाउनु परेको वडा अध्यक्ष लक्ष्मी बास्कोटाले बताइन् ।
‘सामान्य अवस्थाकालाई मापदण्डले पनि परीक्षण नगर्न भनेको रहेछ, तर सार्वजनिक स्थानमा काम गर्ने, तरकारी लगायतको व्यवसाय गर्नेको परीक्षण भएमा मात्रै स्थानीय सुरक्षित बन्छन्’ उनले भनिन्, ‘केही रिफर गर्ने बिरामीलाई पनि परीक्षण गरिएको छ ।’ बागलुङ नगरपालिकाले संक्रमण हुनेलाई खोजी गरेर न्युनिकरण अभियान पनि थालेको छ ।





