बागलुङ, ९ जेठ– रोप्ने बेलामा बिउँ अभाव भएपछि बागलुङमा नै मकैको बिउँ उत्पादन थालिएको छ । बाहिरी जिल्लाबाट मुल बिउँ ल्याएर कृषि ज्ञान केन्द्रको सहयोग किसानले मकैको बिउँ उत्पादन थालेका हुन् ।
यो वर्ष मकै रोप्ने समयमा यहाँका किसानलाई उन्नत जातको मकैको बिउँ अभाव भएको थियो । कृषि ज्ञान केन्द्र बागलुङले २० हजार किलोग्राम मकै बैतडीबाट ल्याएर किसानलाई उपलव्ध गराएको थियो । सोही बिउँका बिरुवा अहिले यहाँका अधिकांश किसानको खेतबारीमा हुर्किरहेका छन् ।
मकै जोन बैतडीबाट तीन हजार किलोग्राम मुल बिउँ ल्याएर आउँदो वर्षका लागि बागलुङमा नै बिउँ उत्पादन थालिएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । ‘मनकामना–३’ जातको सेतो मकैको बिउँ बागलुङमा खोजी हुने गरेको छ ।
मुल बिउँमा ५० प्रतिशत अनुदान दिएर केन्द्ले किसानलाई उपलव्ध गराएको छ । वडिगाड गाउँपालिकाको जलजला, बरेङ गाउँपालिकाको सुखौरा, सल्यान र बाटाकाचौर तथा बागलुङ नगरपालिकाको कुँडुलेमा बिउँ उत्पादनका लागि सेतो मकै लगाईएको छ । माटो र वातावरणका हिसाबले अनुकुल रहेको ४ हेक्टर जमिनमा मकैको बिउँ उत्पादनका लागि मुल बिउँ लगाईएको हो ।
‘मुल बिउँबाट उत्पादन हुने बिउँ पाँच वर्षसम्म लगाउन मिल्छ’ उनले भने ‘पाँच पुस्ता हुने बेलासम्म अब बिउँको अभाव हुने छैन् ।’ एक हजार किलोग्राम मुल बिउँबाट ८ हजार किलोग्राम बिउँ उत्पादन गर्ने लक्ष केन्द्रको छ । यो वर्षको असारसम्ममा २४ हजार किलोग्राम बिउँ तयार हुने उनले बताए ।
‘किसानले तयार गरेको बिउँ हामी खरिद गर्छौं र किसानलाई नै ५० प्रतिशत अनुदानमा उपलव्ध गराउँछौं’ भट्टराई भन्छन् ‘बागलुङका अधिकांश फाँटमा मकैको राम्रो उत्पादन हुन्छ, यसबाट किसानले फाईदा लिन सक्छन् ।’ बेसीका फाँटहरुमा उन्नत जातको मकै लगाउन प्रोत्साहन गरिरहेको केन्द्रले उच्च भूभागमा माटो अनुसारको स्थानीय जातका मकै लगाउन सिफारिस गर्ने गरेको छ ।
‘पहिले यहाँ पनि बिउँ उत्पादन हुन्थ्यो, किसानलाई समस्या थिएन’ भट्टराई भन्छन् ‘बीचमा कृषि कार्यालय खारेज हुँदा किसानलाई सल्लाह दिने कोही नभएका कारण पछिल्ला केही वर्ष बिउँ उत्पादनमा समस्या आयो ।’ बिउँका लागि उत्पादन भएको मकै समेत किसानले खानामा उपभोग गर्ने गरेकाले समस्या आएको बाली विकास अधिकृत दिनेश पाठक बताउँछन् ।
यो वर्ष किसानले १ सय ४० रुपैयाँ प्रतिकिलोग्रम मकै किनेर लगाएका छन् । मकैको बिउँ उत्पादन हुने क्षेत्र र मकै बाली लगाईएका सबै फाँटमा फलेको मकै जोगाउन ज्ञान केन्द्रले स्थानीय सरकारलाई आग्रह गर्दै आएको छ । मकैमा फौजी किरा र बाँदरले धेरै क्षति गरेको छ । बागलुङमा पहेँलो मकैको तुलनामा सेतो मकैको माग उच्च छ । उत्पादनमा समानता भएपनि सेतो मकैको बिउँ माग्नेहरु धेरै रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक देखाउँछ ।
कृषि विकास कार्यालय खारेज भएपछि निराश भएका किसानले पर्वतमा रहेको ज्ञान केन्द्रबाट लाभ लिन सकेका थिएनन् । एक वर्षअघि स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले प्रोत्साहन र सहयोगका कार्यक्रम ल्याएपछि किसान उत्साहित छन् ।





