बागलुङ, ९ जेठ– बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले धौलागिरि अस्पताल बागलुङलाई अक्सिजन सिलिन्डर र नगद सहयोग गरेका छन् । कोभिड–१९ का बिरामीको उपचारमा सहयोग पु¥याउने भन्दै नेपालीले अस्पताललाई सिलिण्डर र नगद दिएका हुन् ।
अस्पतालमा अक्सिजनको अभाव हुन नदिने भन्दै नेपालीले ३० थान अक्सिजन सिलिन्डर र ५ लाख नगद सहयोग गरेका हुन् । यो उनको व्यक्तिगत सहयोग हो । धौलागिरि अस्पताल बागलुङमा एक कार्यक्रम गरि नेपालीले अक्सिजन सिलिण्डर सहयोग गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अक्सिजन नपाएर कोहीपनि जनताको मृत्यु हुन नपरोस् भन्ने उद्देश्यले ३० वटा अक्सिजन सिलिण्डर र नगद ५ लाख सहयोग व्यक्तिगत रूपमा गरेको नगर प्रमुख देवकुमार नेपालीले बताए । अस्पतालमा आफ्नो अक्सिजन प्लान्ट भएपनि त्यसले धेरै बिरामीलाई अक्सिजन दिन नपुगी अहिले अस्पताल भर्ना भएका बिरामीलाई सिलिण्डरमार्फत अक्सिजन दिनुपर्दा समस्या भइरहेको थियो ।
अस्पतालमा अहिले अक्सिजन सिलिण्डर १ सय ३० वटा पुगेका छन् । हाल पोखराबाट हरेक दिन अक्सिजन रिफिल गरेर ल्याई बिरामीलाई अक्सिजन दिने काम भइरहेको छ । धौलागिरि अस्पताल र तीन निजी अस्पतालमा दैनिक रूपमा १ सय ४० वटा अक्सिजन सिलिण्डर खपत हुनेगर्छ ।






