बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१० दिनमा किन डिस्चार्ज ?

१० दिनमा किन डिस्चार्ज ?


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७८, सोमबार

बागलुङ, १० जेठ– यतिबेला सरकारले मापदण्ड बनाएर कोरोना संक्रमण पुष्टी भएको १० दिन आइसोलेसन बसेपछि स्वतः डिस्चार्ज हुने व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बनेपछि नेपालले पनि यो अपनाएको हो ।
त्यो व्यवस्थाले संक्रमित बढेको टिप्पणीसमेत भयो । तर विज्ञ तथा चिकित्सकले त्यो वैज्ञानिक भएको बताएका छन् । संक्रमण भएको शंका लाग्नासाथ तत्काल स्वाब परीक्षण गरेमा कोरोनाबाट बच्न सकिने उनीहरुको तर्क छ । संक्रमणले च्यापीसकेपछि मात्रै उपचारमा गएकोले धेरैको ज्यान गएको तथ्यांक छ ।
मौषमी रुघाखोकी वा अन्य समस्या जस्तो जथाभावी औषधी सेवन गर्दा शरीरमा नकारात्मक असर परेर पनि कतिपय रोग निको नभएको, मृत्युका घटना भएको चिकित्सक बताउँछन् । कोरोना भाइरस निस्कृय भएपनि त्यसले शरीरका भित्री अंगमा पुगेको असर निको नभएर मृत्यु भएकाहरु धेरै भएको पाइएको धौलागिरि अस्पतालका मेडिकल सुपरीटेन्डेण्ड डा. शैलेन्द्र विक पोखरेलले बताए ।
‘कोरोना संक्रमणभन्दा अन्य रोगले च्यापेको कारण उपचारमा धेरै समय बिताउनु परेको हो’ डा. पोखरेलले भने, ‘१० दिन काटेका संक्रमितको नमूना स्वाब लगेर कल्चर हेर्दा मरेका भाइरसहरु मात्रै भेटियो ।’ त्यो पहिलो र दोश्रो भेरियन्टमै समान भएको उनले बताए ।
अहिले मृत्यु हुनेमा अधिकांस न्युमोनियाका बिरामी छन् । कोरोना भाइरस शरीरमा पसेपछि रुघाखोकीसँगै निमोनिया बनाउने गरेकोले समयमा चिकित्सको सल्लाह लिनुपर्ने स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे बताउँछन् । भन्छन् ‘निमोनिया भयोभने निको हुन गाह्रो पर्छ, त्यसैले छिट्टै उपचार पाउनका लागि शंका लाग्नासाथ पीसीआर गराउनु पर्छ ।’ समयमा पीसीआर गरेर १० दिन आइसोलेसन बस्नेबाट अन्य मानिसमा रोग नसर्ने उनले बताए । ढिला परीक्षण गर्दा संक्रमितलाई गलाउने उनले सुनाए ।
पीसीआर मात्र गर्दा ती भाइरस पोजेटिभ देखिन्छन् । ‘हात्तिपाइले लगायतका धेरै रोगका भाइरस पनि निको भएको वर्षौसम्म पोजेटिभ भेटिन्छन्’ उनले भने, ‘कतिपय सुषुप्त अवस्थामा रहन्छन् ।’ मौषमी समस्या अघिल्ला वर्षझै देखिएको छैन । त्यसैले लक्षण देखिने बित्तिकै मौषमी ज्वारे, रुघा वा अन्य समस्या भनेर नबस्न उनको सुझाव छ ।
स्वास्थ्यकर्मीले सामान्य ज्वरो, शरीर दुख्ने जस्ता समस्यामा सिटामोल खान भने सुझाव दिएका हुन् । ‘सिटामोल खान मिल्छ, अन्य औषधिका लागि भने स्वास्थ्यकर्मी वा डाक्टरको सल्लाहबिना हुँदैन’ डा. पोखरेलले भने, ‘रोग प्रतिरोधात्मक भनिएका केही औषधि पनि सल्लाह गरेर मात्र प्रयोग गर्दा राम्रो हुन्छ ।’ कतिपयले महामारीको मौकामा अनेकथरी औषधि बेच्ने गरेकोले त्यस्ता भ्रममा नपर्न पनि स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
कोरोनाबाट डराउने समयमा नडराएको तर पछि डराउने बानीले नेपालमा मृतयुदर बढेको समेत डा. पोखरेलको भनाई छ । ‘लक्षण देखिएको एकदुई दिनअघिबाटै सर्ने संभावना बढी हुन्छ, तर मृत्यु भएकोबाट सर्ने संभावना कम छ’ पोखरेलले भने, ‘लक्षण देखिनासाथ स्वास्थ्य मापदण्ड पालना गर्नुपरेको त्यसैले हो ।’ मृत्यु भएकालाई सामान्य सर्तकता अपनाएर अन्तेष्टी गर्दा सर्ने खतरा कम हुने उनले तर्क गरे ।

दिर्घरोगीलाई समस्या

दिर्घ रोग भएकामा संक्रमण देखिंदा निको हुने दर कम छ । ‘अन्य रोगले च्यापेको शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि सबै कमजोरीमा प्रहार गर्छ’ उनले भने, ‘उपचार कता गराउने भन्ने अन्यौलतामै उसको मृत्यु भैसकेको अवस्था छ ।’
डायलायसिस गरेका बिरामीमा कोरोना संक्रमण देखियो भने सबैभन्दा जटिल हुने उनले बताए । संक्रमितको उपचार मात्र नभई डायलायसिस पनि गर्ने आइसोलेसन चाहिने भएकोले कठिन भएको उनले बताए । मृगौलामा असर परेपछि कोरोना संक्रमित बचाउन कठिन हुने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->