पोखरा, ११ जेठ– राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गण्डकीका आफ्ना सभासद कृष्ण थापालाई थप कारवाही गर्ने संकेत गरेका छन् ।
‘गण्डकीको हकमा हामीले कि कृष्ण थापालाई रोज्नुपर्छ कि मध्यावधि रोज्नुपर्छ, हामी कृष्ण थापा र मध्यावधि दुबै रोज्न सक्दैनौँ’, उनले भने,‘कम्तिमा प्रतिगामी सरकारभन्दा प्रतिगमनको विरुद्धमा बन्ने सरकार राम्रो हुन्छ भन्ने हाम्रो मान्यता हो ।
पार्टीको निर्णय र संसदीय दलको ह्विप नमानेकाले शनिबरा नै कृष्ण थापामाथि कारवाही गरिएको जानकारी दिँदै आवश्यता हेरेर थप कारवाही गरिने उनको भनाई थियो ।
‘हामीले कारवाही गरिसकेका छौँ, हामीलाई सुृविधा प्राप्त के छ भने हामीले त्यो कुरा सभामुखमा टेबुल नगर्दासम्म त्यो पार्टीको आन्तरिक मामिला हुन्छ, संसद सचिवालयमा जानकारी दिएपछि पद खाली हुन्छ । हाम्रोलागि त बाटो खुल्ला भइहाल्यो नि’,उनले भने,‘ प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको कदमको देशव्यापी विरोध भइरहेको छ । ओलीको सवालमा जुन द्धिविधा थियो त्यसमा प्रष्ट भएर पार्टीले दिएको ह्विप मान्नुभयो भने ठीकै छ, पृथ्वीसुब्बाको पक्षमा नै जान्छु भन्नुभयो भने पार्टीले कारवाही गर्छ ।’
उनले कृष्ण थापाकै कारणले गण्डकी प्रदेश सरकारलाई मध्यावधिमा जान दिने कि नदिने भन्नेमा पार्टीले एउटा विकल्प छानिसकेको पनि जानकारी गराए । अर्का सभासद खिमविक्रम शाहीले पार्टीको ह्विप मानेको र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेकाले उनीप्रति शंका नभएको पनि उनको जिकिर थियो । महासचिव भट्टले आफ्ना सभासद कृष्ण थापाकै कारण कारण गण्डकीमा प्रतिगमनकारीको सरकार टिक्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै गण्डकी प्रदेशमा पनि मध्यावधि निर्वाचनको सम्भावन रहेको स्वीकारे ।
‘गण्डकी पनि मध्यावधिको डिलमा सरकार पुगेको छ, यसमा प्रष्ट छ’, उनले भने,‘ हाम्रो निर्णयले मध्यावधि रोकिन्छ कि रोकिँदैन भन्न सकिँदैन तर कृष्ण थापा उतै ( मुख्यमन्त्री पृथ्वीसुब्बा गुृरुङको पक्षमा)मिल्ने हो भने पनि २९ भन्दा ३० जना देखिँदैन ।’ उनले सत्ता पक्ष वा विपक्ष दुबैतिर बहुमत नपुगे संविधानको १७६ को धारा ५ अनुसार सरकार गठन गर्नुपर्ने भएपनि केन्द्रको नियति गण्डकीमा दोहोरिने आशंका व्यक्त गरे । ‘त्यहाँ (गण्डकीमा) एमालेले आफ्नो कार्यकर्तालाई प्रदेश प्रमुख बनाएका छन्, केन्द्रमा जे देखिएको छ, त्यहाँ नहोला भन्न सकिँदैन’,उनले थपे । सभासद थापालाई संसदीय दलको नेताबाट हटाइएपछि त्यसको जिम्मेवारीको अख्तियारी सचेतक पियारी थापालाई दिएको उनले जानकारी दिए ।
उनले कृष्ण थापालाई सभासद बनाउन ठूलो मूल्य चुकाएको जिकिर गर्दै पार्टीको वासिर बनेकाले नै पार्टीलाई धोका दिएको जिकिर पनि गरे । राष्ट्रिय जनमोर्चासँग गण्डकीमा ३ जना सभासद छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा विश्वासको मत लिनुपर्ने बाध्यता रहेको अवस्थामा जनमोर्चाका ३ जना सभासद नै निर्णायक भूमिकामा छन् ।





