बागलुङ, ११ जेठ– कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानले वडा स्तरीय विपत् व्यवस्थापन कोष स्थापना छ । स्थानीय समाजसेवी तथा दाता संघसंस्थाको सहयोगमा कोष स्थापना गरिएको हो ।
नारायणस्थान स्वास्थ्य चौकी र सामाजिक संस्था स्वान नेपालको सहकार्यमा वडामा विपत् व्यवस्थापन कोष स्थापना गरिएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । नारायणस्थानबाट कामको शिलशिलामा अस्ट्रेलियामा पुगेका युवायुवतीले कोषमा सहयोग गरेका छन् ।
तत्कालका लागि कोषमा एक लाख १८ हजार ४ सय रुपैयाँ जम्मा भएको छ । अटे«लियामा रहेका १४ जना युवाले एकमुष्ट पठाएको रकम सोमबार वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । कोषको रकम कोभिड नियन्त्रण र रोकथामका लागि प्रयोग गरिने वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए ।
स्वास्थ्य सामग्री, प्रि–आईसोलेसन कक्ष, औषधि लगायतका कोभिड नियन्त्रणका लागि आवश्यक सामग्रीको नारायणस्थानमा अभाव थियो । कोषको परिचालनले फैलिँदो कोरोनालाई नियन्त्रण गर्न सहज हुने वडाको अपेक्षा छ । कोभिड नियन्त्रण पश्चात जुनसुकै बिपतका बेलामा समेत कोषले सहयोग गर्ने खत्री बताउँछन् ।





