बागलुङ, ११ जेठ– बागलुङ नगरपालिका वडा नंं १२ का एकै घरमा चार जना कोरोनाका संक्रमित छन् । संक्रमितमध्ये एकजना सुत्केरी छिन् ।
संक्रमणका कारण केही अनिष्ठ होलाकी भनेर उनीहरुको घर परिवारमा डरत्रास थियो । संक्रमणका कारण पर्न सक्ने अप्ठ्यारोबाट उनीहरु डराएका थिए । तर उनीहरुको डर हटाउन चिकित्सक घर घरमै पुगेर परामर्श गराएका छन् ।
शनिबार धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेल संक्रमितको घरमा पुगेर परामर्श गरे । अनुगमनको रुपमा बागलुङ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक डिल्ली आचार्य र स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे संक्रमितको भेटमा गएका हुन् ।
भेटमा पुग्दा उनीहरुले प्रत्येक संक्रमितको अवस्थाबारे चासो राखे । ज्वरो, रुघाखोकी लगायतका लक्षणबारे बुझेर आवस्यक औषधि पनि सिफारिस गरे । घरमै बसिरहेका संक्रमितको आँगनमै आएर चिकित्सकले सञ्चो बिसञ्चो सोधेपछि उनीहरुको मुहारमा खुसी छाएको छ ।
‘केही अप्ठ्यारो परेको थियो, सल्लाह र औषधि पनि सिफारिस गरिदिनु भएको छ’ संक्रमित महिलाले भनिन्, ‘के होला भनेर डराएकी थिए, अहिले ढुक्क भएको छ ।’ नियमित खानपानमा ध्यान दिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र नियमित सरसफाईमा ध्यान दिने सल्लाह पाएको उनले बताइन् ।
पछिल्लो समय होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई भेटेर परामर्श गराउने क्रम बढेको हो । बागलुङका अधिकांस गाउँ गाउँमा बसेका संक्रमितलाई अस्पतालका डाक्टर, स्वास्थ्य कार्यालयका प्रतिनिधि लगायतले भेटेर समस्याबारे चासो देखाउन थालेका हुन् । १ हजार जनाभन्दा बढी संक्रमित घर घरमा आइसोलेसनमा बसेकोले उनीहरुमा परामर्श गर्दा मापदण्ड पालना हुने र निको हुने दर समेत बढ्ने डा. पोखरेलले बताए ।
‘हामी पुगेपछि बिरामीको हौसला पनि बढेको छ, उनीहरुको समस्याबारे पनि बुझ्न पायौं’ पोखरेलले भने, ‘अस्पतालमा रहेका ४०–५० जना बिरामीको उपचार मात्रै सबै कुरा होइन, सबै संक्रमित निको हुनुपर्छ भन्ने मान्यता राखेका छौं ।’ घरमा बसेका संक्रमितको बानी व्यवहारमा सुधार गर्ने र मापदण्ड पालना गर्दा छिट्टै संक्रमणबाट मुक्त हुन सकिने उनले बताए । जटिल समस्या भएकालाई मात्रै अस्पतालमा आउन र सामान्य असर भएकाहरुले परामर्शमार्फत घरमा बसेर उपचार गर्दा छिटो निको हुने समेत उनको भनाई छ ।
घरमा बस्दा आत्तिएकाहरुले स्वास्थ्यकर्मी पाएर हौसला थपिएको बताए । स्वास्थ्यकर्मी, प्रशासक वा अन्य सुरक्षा निकायका मानिस नियमित गाउँमा पुग्दा घर घरमा बस्ने बानी समेत बसेको उनीहरुको भनाइ छ । खेतीपातीको समय भएकोले उनीहरुले मास्क लगाएर जाने गरेका छन् । ‘हामीले मास्क लगाएरै खेतीपाती गरेका छौं, पहिला अप्ठ्यारो लागेको थियो, अहिले बानी परेको छ’ स्थानीय पार्वती आचार्यले भनिन्, ‘बालबालिका देखि बुढाबुढी सम्मले मास्क अनिवार्य लगाएका छन् ।’
घरमा बस्नेलाई शौचालय अभाव
होम आइसोलेसनमा बसेकाहरुमा शौचालयको भने अभाव छ । ग्रामीण घरहरुमा एकएक वटा मात्रै शौचालय छन् । ती शौचालय प्रयोग गर्दा फेरी संक्रमण फैलिन सक्ने डर बढेको छ । केहीले भने छिमेकी मिलेर संक्रमितलाई दिएको शौचालय अन्यले प्रयोग नगर्ने गरेको बताए । स्वास्थ्यकर्मीले भने अप्ठ्यारो परेमा बारीमा अस्थायी शौचालय बनाउन पनि सल्लाह दिएको बताए ।
ग्रामीण क्षेत्रमा बस्दा कुनै न कुनै रुपमा मापदण्ड पालना उल्लंघन भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल बिकले बताए । ‘अत्यावस्यक पर्ने कुराभन्दा लापरवाही गर्ने कामलाई निरुत्साहित गर्नुपर्छ’ बिकले भने, ‘चौतारोमा बस्ने, भीड बनाएर गफ गर्ने प्रवृत्ति भने केही समय पूर्ण रुपमा अन्त्य गर्नुपर्छ ।’





