बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

घर घरमा धारा, टर्दै गाग्री बोक्नुपर्ने बाध्यता

घर घरमा धारा, टर्दै गाग्री बोक्नुपर्ने बाध्यता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७८, मंगलबार

बागलुङ, ११ जेठ– हरेक बिहान झिसमिसेमा गाग्री बोकेर पानी खोज्न निस्किने देवी चापाईंको आँगन छेवैमा अहिले धारा बनेको छ । चालु आर्थिक वर्ष नसकिँदै धारामा पानी खस्ने कुरा छ । कुवाको पानीका लागि समेत लामो समय लाईन बस्ने देवी दैलोमा पानी आउने कुराले दंग छिन् ।
बागलुङ नगरपालिका–१२ अमलाचौरको गौंदी र थाराहार गाउँमा खानेपानीको चरम समस्या छ । देवी सोही गाउँकी स्थानीय हुन् । नजिकमा खानेपानीको स्रोत नभएका कारण अहिलेसम्म पनि दुवै गाउँका स्थानीय कुवा र खोल्साको पानीमा भर गरेर बसेका छन् । एक वर्षअघिदेखि दुवै गाउँमा खानेपानीका धारा पु¥याउने काम चलिरहेको छ । कंक्रिटले बनेको धारामा पानी त खसिसकेको छैन । गाउँका गृहणीहरु भने अब गाग्री बोकेर झिसमिसेमा निस्कन नपर्ने आशामा छन् । यहाँ एक घर एक धारा निर्माण गर्न सुरु भएको खानेपानी योजना निर्माणको कामले अन्तिम रुप लिएपछि गाउँलेहरु खुसी भएका हुन् ।
‘पहिले गाउँ छेवैमा रहेको कुवा पनि अहिले सुकेको छ, हाम्रो पानीको भर भनेकै खोला र कुवाको पानी हो’ गौदीका स्थानीय माधव शर्माले भने ‘स्रोत नभएकै कारण हाम्री आमाले एक घण्टाको बाटो हिँडेर पानी ल्याउने गर्नुभएको छ ।’ वर्षाको समयमा खेतमा निस्कीने मुहानको भरमा खानेपानीको प्रबन्ध गर्ने उनीहरुलाई हिउँदको सुख्खा समयमा समस्या हुने गरेको थियो ।
अमलाचौर बृहत खानेपानी आयोजनाअन्तर्गतको सानो आयोजना सञ्चालन गरेर यी गाउँमा खानेपानी पु¥याउन लागिएको हो । क्रमागत योजना भएकाले कामको आधारमा आयोजनाले भुक्तानी पाउने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
मुहानमा विवाद हुँदाहुँदै गौंदी र थाराहारका पानी ल्याउने काम अघि बढेको हो । झण्डै तीन किलोमिटर टाढा रहेको नियालमारे खोलाको मुहानबाट अमलाचौरमा पानी ल्याईने वडा खानेपानी संयोजक भोजराज आचार्यले बताए । ३० घरमा धारा र १५ हजार लिटरको रिजर्भ ट्याङ्की निर्माण भैसकेको छ । मुहानमा सानो ट्याङकी बनाउने र पाइपलाईन बनाउने काम समेत सकिएको आचार्यले बताए । अमलाचौरका सबै गाउँहरुमा खानेपानीको पहुँच पुग्दा समेत यी गाउँहरुमा खानेपानी थिएन ।
खानेपानी घर घरमा आएपछि स्थानीय खुसी छन् । करेसाबारीमा तरकारी उत्पादन र पशु चौपायको लागि समेत पानी खुवाउन सहज हुने उनीहरुको भनाई छ । विवाह, व्रतबन्ध, किरिया कर्म लगायतका धार्मिक तथा सांस्कृतिक कर्म गर्दा यहाँका स्थानीयलाई छिमेकी गाउँबाट पानी बोक्नुपर्ने समस्या थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->