
बागलुङ, ११ जेठ– कोरोनाको संक्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् ।
मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना गर्न थालेको किसानले बताए । ‘काम नगरी खान पाइदैन, तर सामाजिक दुरी बनाएर काम गरेका छौं’ बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरकी पार्वती आचार्यले भनिन्, ‘मकै गोड्न जाँदापनि मास्क अनिवार्य गरेका छौं ।’
बालबालिका, बुढाबुढीसहित सबैलाई मास्कको आवस्यकताबारे स्वास्थ्यकर्मीले जानकारी गराएका थिए । सुरुवातमा अटेर गरेकाहरु गाउँघरमा संक्रमित थपिएपछि मात्रै डराएर लगाउन थालेका हुन् । घरमा बस्दापनि अनिवार्य मास्क लगाउन भनेको अमलाचौर स्वास्थ्य चौकीकी अनमी कल्पना शर्माले बताइन् । ‘सुरुमा लापरवाही थियो, जथाभावी हिंड्ने पनि थिए, गाली गरियो, सम्झाइयो अनिमात्र सुधार भएको छ’ शर्माले भनिन्, ‘लक्षण देखिएमा कोरोना परीक्षणमा पनि पठाईएको छ ।’
बलेवा क्षेत्रमा मात्रै अझैपनि ३ सय ५० बढी सक्रिय संत्रमित छन् । त्यसैले घर घरमा संक्रमण अझै बढ्ने खतरा रोक्न बाहिर निस्कन कडाइ गरिएको उनले बताइन् । पहिला धेरै अप्ठ्यारो लाग्थ्यो, अहिले नलगाएमा अप्ठ्यारो हुन थालेको आचार्यले बताइन् ।
यतिबेला गाउँ गाउँमा खेतीपातीको समय छ । मकै गोड्ने, उच्च स्थानमा आलु खन्ने काम भैरहेका छन् । ताराखोला, ढोरपाटन, बडिगाडका उच्च पहाडी क्षेत्रमा अहिले पनि किसानले काममा दैनिक निस्कनु परेको बताए । ‘काम त गर्नैपर्छ, तर सर्तकता अपनाएका छौं’ ताराखोला गाउँपालिका–२ का अध्यक्ष भद्रबहादुर घर्तीले भने, ‘बारीमा पनि सामाजिक दुरी कायम गरेका छौं ।’ तर यो वर्ष अघिल्लो वर्षझै पर्म लगाउन नसकेको बताए । पर्मका लागि मानिस जुटाउँदा संक्रमणको डर भएकोले एक्लाएक्लै काम गरिएको उनको भनाई छ ।
अहिले उनले खेताला खोज्ने र पर्म लगाउने काम गर्न पाएकी छैनन् । बरु दैनिक परिवारका सदस्य मात्रै गएर काम गरिरहेको बताइन् । जेठ लागेपछि यहाँ मकै गोड्ने समय भएको छ । बारीमा झार उम्रिएकोले तत्काल गोड्न नसके मकै उत्पादन घट्छ । संक्रमितको घरका परिवार कन्ट्रयाक्ट ट्रेसिङमा परेको र उनीहरुलाई बोलाउन पनि नमिलेको किसानले बताए । अत्यावस्यक काम घरका सदस्य मात्रै मिलेर गरेको घर्तीको भनाई छ ।
गलकोटमा पनि खेताला नपाउने समस्या परेको स्थानीय बताउँछन् । बडिगाडका किसानले यतिबेला बढी सास्ती खेपेका छन् । यहाँ धेरै संक्रमित भेटिएका छन् । धेरै जनाको मृत्यु भएकोले कतिपय सामान्य लक्षण भएका पनि कमजोर बनेकोले घरको कामसमेत गर्न नसकेको स्थानीय झविन्द्र बुढाथोकीले बताए ।
‘गाइभैसीलाई घाँसपात पनि गर्न नसकेर भित्रै बसेकाहरु पनि छन्’ उनले भने, ‘वैशाखको २० पछि खेतीपातीमा ध्यान दिनै पाइएको छैन ।’ समस्यामा परेकालाई घाँस पानी पु¥याइदिएर सहयोग गरेको उनले बताए । चरनमा लैजाने किसानले यसपटक पशुलाई घरमै बाँधेर राखेका छन् ।





