बागलुङ, १३ जेठ– नगर विकास कोषको ऋण सहयोगमा बागलुङमा निर्माणाधीन आधुनिक बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । बागलुङ नगरपालिकाले निर्माण गरिरहेको बसपार्कको काम ५ प्रतिशत मात्रै बाँकी रहेको इञ्जिनियर मनोज शर्माले बताए ।
२०७५ सालमा एक वर्षभित्रै निर्माण सक्नेगरी सुरु भएको काम ३ पटक म्याद थपेर अन्तिम चरणमा पुगेको हो । १८ वर्षअघि स्थानीयले जग्गा दिएर पनि व्यवस्थापकीय समस्याले बसपार्क निर्माणको काम शुरु हुन सकेको थिएन । ३ वर्षअघि सुरु भएको काम विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले ३ पटकसम्म म्याद थपेको थियो । पछिल्लो पटक थपेको म्याद यहि जेठ महिनामा सकिँदै छ ।
बसपार्कमा अन्य संरचना निर्माण भइसकेकाले कालोपत्रेको काम मात्रै बाँकी रहेको शर्माले बताए । ‘कोरोना महामारीको बहानाबाजी नगरे एक सातामा काम सकिन्छ,’ शर्मा भन्छन्, ‘नेपाल सरकारले नै एक वर्ष समय थप गर्ने भनेकाले म्याद थप पनि माग्न सक्छ ।’ बसपार्क निर्माणको काम आशिष फेवा संयुक्त निर्माण कम्पनीले गरिरहेको छ ।
७ करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा एक वर्षभित्र काम सक्नेगरी सम्झौता भएको थियो । पहिलो पटक स्टमेटनै गलत भएको भन्दै सुधारका लागि म्याद थप भएको थियो । दोस्रो र तेस्रो पटक कोरोना महामारीको कारण देखाउँदै थपिएको म्याद समेत सकिन थालेको हो ।
बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्यांक्सी पार्किङ, ग्यारेज र फुलबारी निर्माणको काम सकिएको छ । बसपार्कको ५ हजार ७ सय स्क्वायर फिट कालोपत्रेको काम मात्रै बाँकी रहेको शर्माले बताए । नगरबिकास कोषले ९ करोड ४ लाख रुपैयाँ ऋण दिएपछि निर्माणको काम शुरु भएको थियो । बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपुरक कोषबाट २५ लाख खर्च भएको छ ।
हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बसहरु राख्न पुगेको छैन । उक्त बसपार्क निर्माण भएमा लामो तथा छोटो दुरीका लागि छुट्टाछुट्टै व्यवस्था गरिने योजना छ । मध्यपहाडी लोकमार्ग बागलुङकै बाटो गएपछि सवारीको चाप बढ्न थालेको छ । बागलुङदेखि पर्वत, म्याग्दी र मुस्ताङक तथा पोखरा चल्ने बसका लागि चिप्लेटी र लामो दुरीलाई यो बसपार्क संचालन गर्ने योजना छ । हाल काठमाण्डौ, भैरहवा, चितवन, नेपालगंज, कांकडभिट्टा, बीरगंज लगायत स्थानमा लामो दुरीका सवारी चल्दै आएका छन् ।
‘यो पार्कमा बढीमा ७० वटा बस पार्क गर्न सकिन्छ, त्यसैले दिर्घकालसम्मका लागि अझै साँघुरो हुन्छ,’ इन्जिनियर मनोज शर्माले भने, ‘लामो दूरी र छोटो दूरीका छुट्टाछुट्टै पार्क प्रयोग गर्दा यसको बढी सदुपयोग हुनेछ ।’





