बागलुङ, १४ जेठ– सञ्चालनमा आएको पहिलो नौ महिनामै आन्तरिक पर्यटकको रोजाइमा परेको सिग्दी सामुदायिक घरबास १४ महिनादेखि बन्द छ । बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा रहेको घरबास कोरोनाका कारण सञ्चालनमा आउन नसकेको हो । २०७६ चैतमा बन्द भएको घरबास २०७८ जेठसम्म पनि सञ्चालनमा ल्याउन नसकिएको घरबास सञ्चालक हिराबहादुर पुन बताउँछन् ।
महामारीको दोस्रो लहर सुरु हुनुपूर्व अन्य गतिविधि सञ्चालन भएपनि यहाँको घरबास भने बन्द रहयो । अहिले घरबास सञ्चालनमा आउने अवस्था रहेन । घरबासलाई नै प्रवद्र्धन गर्ने भनेर सिग्दीदेखि कौडेको लेकसम्म निर्माण भएको पदमार्गले पर्यटक कुरिरहेको छ । सिग्दी गाउँमै रहेको सांस्कृतिक सामुदायिक भवनको ढोका नखुलेको पनि १४ महिनाभन्दा धेरै भयो ।
काठेखोला गाउँपालिका–७ रेशमा रहेको डोटा देउराली सामुदायिक घरबास अघिल्लो माघबाट सञ्चालनमा आएको थियो । झण्डै १० महिनापछि सञ्चालनमा आएको घरबासले पुरानो लयमा नफर्किंदै कोरोना महामारीको दोस्रो लहर चल्यो । अहिले यहाँ घरबास सञ्चालनको त कुरै छोडौं छिमेकी सँगको भेट समेत गर्न मिल्ने अवस्था छैन । घरबास रहेकै गाउँहरुमा कोरोना महामारी फैलिएको छ ।
बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको घरबास जिल्लाभर चर्चित र पहिलो घरबास हो । अतिथि सत्कार घरबासमा मंसिरपछि चैतको पहिलो सातासम्म एकाध आन्तरिक पर्यटक देखिन्थे । चैत लागेपछि भकुण्डे सुनसान छ । कोरोना महामारीको चपेटामा परेको पर्यटन क्षेत्रसँगै यहाँका घरबास परेका छन् । लामो समय सञ्चालनमा आउन नसकेका घरबासका ढोका बन्द गरेर सञ्चालकहरुले अन्य पेशा गर्न थालेका छन् । ‘घरबासले आबद्ध परिवारको खर्च चलेको थियो, अहिले हात खाली छन्,’ सिग्दी सामुदायीक घरबासका अध्यक्ष हिरा बहादुर पुन भन्छन्, ‘गाई बाख्रा पाल्न थालिएको छ, राम्रो हुँदै थियो, घरबास कोरोनाले थला पा¥यो ।’
घरबासमा आउने पाहुनाका लागि तयार भएको बाँकोको गुन्द्रक कुहिएर गयो । स्थानीय जातका कुखुराका भाले सस्तो मुल्यमा बजारमा पुगे । कोरोना महामारीको समयमा सबैभन्दा धेरै पर्यटन क्षेत्र प्रभावित भएको सरोकारवाला बताउँछन् । ‘आय आर्जनको राम्रो माध्याम बन्दै थियो घरबास, तर अहिले बन्द गरेर राख्नु परेको छ,’ काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने भन्छन्, ‘विकल्पबारे छलफल त हुन्छन् तर पाहुना राख्नै पर्ने, खानपान र बसउठ हुने भएकाले सम्भव देखिएन् ।’ रेशमा मात्रै तीन वटा घरबास सञ्चालनमा छन् । बागलुङमा दर्ता भएर सञ्चालनमा रहेका २८ वटा घरबास छन् । त्योबाहेक केही घरबास खुलेर सञ्चालनको तयारीमा छन् । विशेष गरेर पर्यटसँग जोडिएका घरबास धाराशयी भएका हुन् । गण्डकी प्रदेश सरकारले यहाँका २८ घरबासमा पूर्वाधार निर्माणको लागि झण्डै ३ करोड खर्चिएको थियो । स्थानीय सरकार र स्वयं घरबास सञ्चालकको समेत गरेर २० करोडभन्दा धेरै लगानी रहेको स्वरोजगारीको क्षेत्रमा कोरोना महामारीको प्रभाव परेको हो ।





