बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एकैपटक ४ हजार बढी एन्टिजेन्ट परीक्षण गरिने

एकैपटक ४ हजार बढी एन्टिजेन्ट परीक्षण गरिने

पीसीआरका लागि गर्ने लगानी एन्टिजेन्टमा लगाए मात्रै समयमा रिपोर्ट दिएर संक्रमणको दर रोक्न सकिने गुरौले बताए ।


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १४ २०७८, शुक्रबार
फाईल तस्विर

बागलुङ, १४ जेठ– पीसीआरको रिपोर्ट समयमा नआउँदा कोरोना पोजेटिभ भएको मानिसबाटै संक्रमण बढ्ने भएपछि बागलुङमा एन्टिजेन्ट परीक्षण बढाइने भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङले सयौं किट एकैपटक झिकाएर सबै वडामा परीक्षण गर्न लागेको हो । पहिलो चरणमा ४ हजार बढी किटबाटै एकदुई दिनमै परीक्षण गर्ने गरी टोली खटाइने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । कन्ट्रयाक्ट ट्रेसिङमा परेका, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका र सिकिस्त बिरामी परेकालाई यो विधि छिटो र भरपर्दो हुने समेत उनले बताए । लक्षण देखिएका बिरामीलाई रिपोर्ट नआएसम्म के औषधि खुवाउने भन्ने समेत अन्यौल भैरहेकोले समयमै परिणाम ल्याउन एन्टिजेन्ट गर्न लागिएको हो ।
धौलागिरि अस्पतालमा पीसीआर मेसिन संचालनमा आएपनि दैनिक २ सय ५० जनाको मात्रै रिपोर्ट आउन सक्ने व्यवस्था छ । तर गाउँ गाउँमा संक्रमित बढीरहेकोले समयमै व्यवस्थापन गर्ने र आइसोलेसनमा राख्नका लागि परीक्षण बढाउनुपर्ने भएको गुरौले बताए । कार्यालयले पहिलो चरणमा एक वडामा ५० जनाको दरले एकैपटक ४ हजार बढीको परीक्षण गर्नेछ ।
अहिले छिटफुट मात्रै गरिने एन्टिजेन्टलाई बढाएमा संक्रमण दर घट्ने धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । अस्पतालमा पीसीआरका लागि ‘रिएजेण्ट’ समेत कम हुँदै गएको छ । रिएजेण्ट बिना पीसीआर परीक्षण अवरुद्ध हुन्छ । एण्टीजेन्ट बढाउँदा पीसीआरको भार पनि कम हुने उनको तर्क छ । पीसीआरका लागि बागलुङसहित पर्वत र म्याग्दीबाट संकलन गरिएका स्वाबहरु ल्याउने गरिएको छ । ल्याएका स्वाब थुप्रो लागेकोले रिपोर्ट आउन ढिला भएको डा. पोखरेलले बताए ।
धेरै टाढाका र तत्काल अन्य अस्पतालमा रिफर गर्नुपर्ने बिरामीलाई एन्टिजेन्ट परीक्षण गर्दा पीसीआर सहज हुने कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । उनका अनुसार एन्टिजेन्ट पनि पीसीआर जत्तिकै प्रभावकारी छ । लक्षण सहितको बिरामीको नेगेटिभ देखिएको खण्डमा भने पीसीआर पनि गर्नुपर्ने उनले बताए ।
रिपोर्ट समयमा नआएको भन्दै कतिपयले मापदण्ड पालना नगरेको समेत भेटिएको छ । कतिपयले पसल समेत खोलेका भेटिएका थिए । बागलुङमा अहिले पनि १ हजार १ सयबढी मानिस होम आइसोलेसनमा छन् । त्यत्तिकै संख्यामा स्वाब थुप्रेर बसको छन् । अस्पतालमा जनशक्ती समेत अभाव छ । ६ जना मात्रै प्राविधिकले ल्याब हेरेका छन् । ल्याबमा खटिनेले १४ घण्टासम्म काम गरिरहेका छन् । तर पनि रिपोर्ट दिन ढीलाइ भएको हो ।
ढोरपाटन नगरपालिकामा मात्रै रिपोर्ट नआउँदै तीन जनाको मृत्यु भएको छ । काठेखोलामा ४ जना होम आइसोलेसनमा बसेकाहरुको मृत्यु भएको छ । पीसीआरका लागि गर्ने लगानी एन्टिजेन्टमा लगाए मात्रै समयमा रिपोर्ट दिएर संक्रमणको दर रोक्न सकिने गुरौले बताए । स्वास्थ्य मन्त्रालयले १५ लाख एन्टिजेन्ट किट भित्राउदै गरेकोले जिल्लामा पनि परीक्षण दर बढाउन लागिएको गुरौले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->