बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तमानखोलामा संक्रमितसँगै जटिल बिरामी बढी

तमानखोलामा संक्रमितसँगै जटिल बिरामी बढी


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १४ २०७८, शुक्रबार

बागलुङ, १४ जेठ– भूगोल र जनसंख्याले सानो तमानखोला गाउँपालिकामा कोरोनाका संक्रमित पनि थोरै छन् । तर यहाँका संक्रमितमध्ये धेरै बिरामी छन् ।
कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म संक्रमणबाट बचेको तमानमा भारतबाट आएकामा मात्रै संक्रमित भएका थिए । अन्यत्र नियन्त्रणमा आएपछि यहाँका स्वास्थ्यकर्मीहरुमा संक्रमण देखियो । दोश्रो लहरको क्रममा भने तमानखोला पनि बढी प्रभावित भएको छ ।
अहिलेसम्म तमानखोलामा ७१ जनाको मात्रै कोरोना पुष्टी भएको छ । तीमध्ये २२ जना डिस्चार्ज पनि भैसके । तर बाँकी ४९ जनामा ९ जना गम्भिर बिरामी छन् । बिरामीहरु बागलुङ र पोखराका अस्पतालमा आइसियुमा छन् । यो संख्या संक्रमितको २० प्रतिशत हो । कुल संक्रमितको २० प्रतिशत गम्भिर बिरामी हुनु राम्रो नभएको स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालले बताए ।
‘एकदुइ पटक मात्रै परीक्षण गर्दा यो संख्या देखिएको हो, परीक्षण बढाउँदा डरलाग्दो हुन सक्छ’ उनले भने, ‘परीक्षण गर्दा ७० प्रतिशतमा संक्रमण देखिएको थियो ।’ यो क्रमले परीक्षण बढाउने र संक्रमित भेटिने हो भने डरलाग्दो अवस्था आउने उनले बताए । पालिकाले थप ८५ जनाको स्वाब संकलन गरेर पीसीआरका लागि पठाएको छ । ती स्वाबबाट पनि धेरैमा संक्रमण देखिन सक्ने उनले बताए । घर घरमा लक्षण सहितका संक्रमित र शंकास्पद बिरामी भएकोले रिपोर्ट डरलाग्दो बन्ने उनले आशंका व्यक्त गरे ।
अघिल्लो बर्षझै क्वारेन्टाइन नबन्नु, सहरी क्षेत्र र भारतबाट आएकाहरु सोझै गाउँ पुग्नुले संक्रमण घरघरमा पुगेको स्थानीयले बताए । ‘अहिले खुकुलो नियमकै कारण समस्या बढेको हो’ स्थानीय खगेन्द्र घर्तीले भने, ‘घरमा बस्नेले पनि स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् ।’ तमानखोला लगायत ग्रामीण क्षेत्रको चेतना कमी भएकोले संक्रमण बढ्दै गएको उनले बताए ।
ढोरपाटन नगरपालिकामा पनि संक्रमितमध्ये बिरामी भएर आइसोलेसन र अक्सिजन सहितको उपचार दिनुपर्ने बढीरहेका छन् । बोबाङ लगायतका ग्रामीण बस्तीमा जुनसुकै बेला डरलाग्दो गरी संक्रमण फैलन सक्ने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका प्रमुख डा. मिलन मल्लले बताए । ‘समाजको चेतना स्तरले पनि संक्रमण फैलाउन बल पुगेको छ, समयमै संक्रमित र अन्यलाई फरक रुपमा राख्न नसकेमा दुर्घटना बढेर जानेछ’ उनले भने, ‘केन्द्रमा जनशक्ती अभावले अहिले पनि ओपीडीसहितका सेवामा भीड बनाउनु परेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->