बागलुङ, १४ जेठ– जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङले सात दिनकालागि निशेधाज्ञा थप गरेको छ । शुक्रबार बसेको बैठकले अघिल्ला दिनको भन्दा निशेधाज्ञालाई कडाइका साथ लागू गर्ने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
बैशाख २१ गतेदेखि जारी निशेधाज्ञालाई बढाएर उल्लंघन गरेमा जेल र जरिवानाको सजाय समेत थपिएको बताइएको छ । शुक्रवार साँझ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जारी गरेको निशेधाज्ञा सम्बन्धी सूचनामा कोभिड संकट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ को उल्लंघन गरेमा ६ महिना जेल र तीनलाख रुपैयाँसम्म जरिवाना गरिने जनाइएको छ ।
त्यस्तै, अध्यादेश लागू गर्न अबरोध गर्नेलाई १ बर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको उल्लेख छ । व्यक्तिले निशेधाज्ञा उल्लंघन गरेमा १ लाख र संस्थाले उलंघन गरेमा ५ लाख जरिवाना गरिने समेत बताइएको हो ।
मास्क नलगाई आवतजावत गरेमा हरेक पटक २ सय जरिवाना तिराइने छ । अनुमतिबिना सवारी साधन संचालन भएमा पटकै पिच्छे दुई पाङग्रेलाई २ हजार र चार पाङगेलाई ५ हजार जरिवाना लगाइने बताइएको छ । अध्यादेशको पालना नगर्नेलाई प्रमुख जिल्ला अधिकारीले थप ६ महिना थप जेल सजाए तोक्न सक्नेछ ।





