बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कर्मले फेरिएको नाम ‘माइलाकर्मी’

कर्मले फेरिएको नाम ‘माइलाकर्मी’

उनका दावली कर्मी काम छोडेर विदेशिएर कमाएको पैसाले घरघडेरी जोडिरहेका छन् । माइलाले भने गाउँमै परिवारसँग बसेर कमाएको पैसाले घडेरी किने ।


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १५ २०७८, शनिबार

बागलुङ, १५ जेठ– जिल्लाको बलेवा क्षेत्रमा एउटा नाम चर्चित छ ‘माइलाकर्मी’ । बलेवा क्षेत्रमा ढुंगा माटोले बनेका घर र सिमेन्ट बालुवाको प्रयोगले गरिने प्लास्टरका लागि उनको खोजी हुन्छ । कसैले चिटिक्क परेको घर देखे भने उनकै नाम लिन्छन् र भन्छन्– ‘यो त माइलाकर्मीले बनाएको जस्तो घर छ नि !’ उनी हुन्– दलबहादुर नेपाली ।
पेशाले डकर्मी माइलाको बलेवामा चर्चा छ । अमलाचौरको टाकुरीमा घर भएका उनले बागलुङ नगरपालिका १२ अमलाचौर र १४ नारायणस्थानका अधिकांश काम भ्याउँछन् । उनी अहिले ४० वर्षका भए । २३ वर्षअघिदेखि थालेको घर÷कटेरा बनाउने डकर्मी कामले उनको परिचयनै बदलिएको छ । उनको अहिले पनि दैनिकी जाबेल, बेल्चा र गैचीसँग बित्छ ।
‘सानैमा पारिवारिक बाध्यताले काममा लागियो, कामले काम सिकायो’, नेपाली भन्छन् ‘पहिले छाक टार्न सिकेको काम अहिले मस्तै कमाउने उद्यम बनेको छ ।’ परिवारमा उनी माइला छोरा हुन् । बिहान उज्यालो भएदेखि अध्याँरो नहुने बेलासम्म अरुकै घर बनाउने काम गर्ने नेपालीले आफ्नो घर बनाउने जग्गासमेत जोडेका छन् ।
अहिले उनको परिवारमा श्रीमती र २ छोरा र एक छोरी छन् । छोराछोरीको शिक्षा र घर खर्च चलाउँदै बचतका लागि गाउँमै सिकेको सीपले आम्दानी दिइरहेको छ । नेपालीले थालेको काम मेहेनत गर्छन् । उनको दैनिक ज्याला पनि अन्य डकर्मी सिकर्मीको भन्दा धेरै हुन्छ । तर उनको काम चित्त बुझेकाहरुले महंगो ज्याला तिरेरै भएपनि उनलाई काम लगाउँने गरेको स्थानीय इन्द्र केसीले बताए ।
उनी एक्लैले काम गर्ने भने होइनन् । गाउँघरमा बनाइने कच्ची संरचनाको लागि उनको समूह नै छ । समूहको नेतृत्व गर्ने नेपालीले लगाएको काम पक्को हुने विश्वासले गाउँलेहरुले उनको खोजी गर्ने केसीले बताए । अहिलेसम्म कति घरगोठ बनाइयो भन्ने तथ्यांक उनीसँग छैन् ।
‘सम्झेरै भनौं भने पनि समय लाग्छ,’ उनी भन्छन्, ‘आफ्नै माटोसँग खेलेर यतिका समय बिताइयो ।’ उनका दावलीकर्मी काम छोडेर विदेशिए । अहिले उनीहरुले विदेशमा कमाएको पैसाले घरघडेरी जोडिरहेका छन् । माइलाले भने गाउँमै परिवारसँग बसेर कमाएको पैसाले घडेरी किने ।
‘वर्षमा नहुँदा पनि ८/१० लाख बचत हुन्छ,’ उनी भन्छन्, ‘काम गर्ने जनशक्तिको अहिले धेरै अभाव छ, काम सिक्ने हो भने अवसर धेरै छन् ।’ उनले देश छोडेर विदेश जाने युवालाई सीप सिकेर देशमै रोजगारीसँग जोडिन आग्रह गरे । सीप भएका युवालाई स्थानीयदेखि प्रदेश र केन्द्र सरकारले पनि हौसला र प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । माईलाको मेहनत र कमाईले परिवार मात्रै होइन, उनको समुदाय समेत हर्षित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->