पोखरा, १५ जेठ–विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले विश्वकप खेलिसकेको इराकसंग उसैको मैदानमा आज मैत्रीपूर्ण खेल खेल्दै छ । फिफा वरियतामा नेपाल भन्दा १ सय ३ स्थान माथि रहेको इराकसंग आज खेल्दैछ । इराक फिफा वारियताको ६८ औँ स्थानमा रहेको छ भने नेपाल १ सय १७१ औ स्थानमा रहेको छ ।
नेपाल इराकसंग यो चौथो पटक खेल्दै छ । सन् १९८२ मा भारतमा भएको एशियाली खेलकुदमा पहिलो पटक भेट हुदाँ नेपालले ३–० को हार व्यहोरेको थियो । यस्तै सन् २००१ मा विश्वकप छनोटमा दुई पटक भिडेका थिए । उक्त खेलको पहिलो खेलमा नेपाल ९–१ र दोस्रो खेलमा ४–२ को हार व्यहोरेको थियो । नेपाल भन्दा इराक धेरै बलियो टिम भएकाले आजको खेलमा जित भन्दा पनि खेल स्तरमा ध्याय दिने देखिएको छ । विश्वकप छनोट खेल तयारीमा रहेको नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन २३ खेलाडी सहितको व्यवस्थापकको टिम मंगलबार राती इराकको लागि प्रस्थान गरेको थियो ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप छनोट तथा आज हुने मैत्रीपूर्ण खेलका लागि टोलीको २३ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा ६ नयाँ अनुहार सहित १३ खेलाडी परिवर्तन गरेका थिए । उनले थ्री नेसन्स कप उपाधी जित्न सफल टोलीका १३ खेलाडी परवर्तन गर्दै टोलीको घोषणा गरेका थिए । मैत्रीपूर्ण खेलका लागि फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङको टोलीमा पुनरागमन भएको छ । टोलीको फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा र सुमन लामा रहेका छन् । मिडफिल्डरमा एरिक विष्ट, विशाल राई, मनिष डाँगी,कमल थापा,सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ड.ठकुरी, पुजन उपरकोटी र आयुष घलान । डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रैष्ठ, रोहित चन्द, सुमना अर्याल र विकास खवास तथा गोलरक्षकमा किरण चेम्जोङ, दीप कार्की र विशाल सुनार रहेका छन् । 
इराक जानु अघि मुख्य प्रशिक्षक अलमुताइरीले टोलीको तयारी राम्रो रहेको बताएका थिए । उनले नतिजा निकाल्न अहिल्यै नसकेपनि भविष्यका लागि टोली राम्रो रहेको कारण अहिलेबाटै सोच्नुपर्ने बताएका थिए । इराकसंग खेले पश्चात नेपाली टोली स्थल मार्ग हुदैँ आइतबार कुवेत प्रस्थान गर्नेछ । (तस्वीर सौजन्य ः एन्फा )





