शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हेलिकोप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै

हेलिकोप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै

हेलिकोप्टरमा लाखौं खर्चन सक्नेले समयमा अस्पताल पुग्ने चाहना नराख्दा मृत्युवरण गर्नुपरेको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०७८, आइतबार

बागलुङ, १६ जेठ– एकसातादेखि बागलुङमा हेलिकोप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिक जसो हेलिकोप्टर आएर कोरोना र अन्य संकास्पद बिरामी पोखरा र काठमाण्डौ लैजाने गरेको थियो ।
हेलिकोप्टरका लागि स्थानीयले ४ लाख रुपैयाँसम्म खर्च पनि गरे । बागलुङ अस्पतालमा उपचारपछि निको हुन्छ भन्ने विश्वास नभएपछि उनीहरुले सहरी क्षेत्रमा लगेका हुन् । तर हेलिकोप्टरमा पठाइएका बिरामी अधिकांस फर्कन सकेका छैनन् । कतिपयको उतै निधन भयो । कतिपय अझै निको भएका छैनन् ।
कोरोना संक्रमणले देश आक्रान्त पारेको बेला राम्रो उपचार खोज्दै हिड्दा कतिपयले बाटैमा ज्यान गुमाएका छन् । बरु नजिकको अस्पतालमा बसेर उपचार गरेकाहरु फर्कन सफल छन् । ‘हाइ फ्लो अक्सिजन र भेन्टिलेटरका सेवा खोज्दै सहर पसेपनि राम्रो उपचार अहिले देशैभरी छैन’ धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘दक्ष चिकित्सक आँफै खटिएर सेवा दिएमा अन्यत्र गैरहनु पर्दैन ।’ अस्पतालमा अहिले पनि कन्सल्ट्यान्ट डाक्टरहरु नै कोरोना उपचारमा नियमित खटिएका छन् । आइसोलेसनमा दक्ष नर्स र स्वास्थ्यकर्मी पनि निरन्तर लागेकोले निको हुने क्रम पनि यहाँ बढी छ ।
जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार संक्रमितले आत्मबल बलियो बनाउने, नियमित खाना खाने हो भने धेरै केश निको हुन्छन् । परिवार र स्वास्थ्यकर्मीको साथ भएकाहरु छिट्टै निको भएर फर्केको उनले बताए । ‘काठमाण्डौमा भर्ना नपाएका बागलुङ आएर निको भएका छन्, सहरी क्षेत्र मात्र भनेर हुँदैन’ घिमिरेले भने, ‘सामान्य अवस्थामा सहरी क्षेत्रका अस्पताल राम्रो होलान, महामारीमा सहरी क्षेत्रमा चासो कम हुन्छ ।’ ठूला अस्पतालमा एकदुइ जनाको मृत्यु हुनुलाई सामान्य मानिने तर जिल्ला तहमा मृत्यु नहोस् भनेर काम भएको उनले बताए ।
बडिगाड गाउँपालिका र बागलुङ बजार नजिकका बिरामी धेरै हेलिकोप्टरबाट पोखरा र काठमाण्डौ गएका छन् । तीमध्ये धेरैले ज्यान गुमाइरहेका हुन् । पोखरा काठमाण्डौ पु¥याइएपछि मृत्यु भएकाको परिवारले शव व्यवस्थापन समेत गर्न पाएका छैनन् । सदरमुकामकै बागलुङ नगरपालिका ४ का दुइजनाले पनि हेलिकोप्टरमा गएर फर्कन सकेनन् । जिल्लामा कति जनाले हेलिकोप्टरमा उपचार खोज्दै सहर पसे भन्ने तथ्यांक भने कसैले राखेका छैनन् ।
अहिले कोरोना संक्रमितलाई होम आइसोलेसनमा बस्न पाउने मापदण्ड बनाइएको छ । घरमा बसेकै कारण धेरैको छिट्टै निको समेत भएको छ । तर घरमा बस्नेले जटिल समस्या आउन्जेल अस्पताल नजाने प्रवृत्तिले मृत्युका घटना बढेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘घरमा बस्न भनिएको हो, तर समस्या आएकाहरुले छिट्टै अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ’ उनले भने, ‘समयमा उपचारमा नआएको कारण कतिपयको ज्यान गएको छ ।’
आर्थिक रुपमा सम्पन्न भएकाले पनि ढीला उपचारमा निस्केर ज्यान गुमाएका छन् । हेलिकोप्टरमा लाखौं खर्चन सक्नेले समयमा अस्पताल पुग्ने चाहना नराख्दा मृत्युवरण गर्नुपरेको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलको भनाई छ । ‘अस्पताल आइसकेपछि उपचार नभएको हैन, भुइमै राखेर भएपनि अक्सिजनको व्यवस्थापन गरेका छौं’ उनले भने, ‘समस्या आउन लाग्दा वास्ता नगरेर अन्तिम परेपछि सोझै पोखरा हानिन खोज्दा धेरैको मृत्यु भएको छ ।’
काठमाण्डौमा अक्सिजनसहितको बेड नपाएर रातारात बागलुङ आइपुगेकी एक महिला भने निको भएर घर फर्केकी छिन् । ढोरपाटन नगरपालिका ३ की ३५ बर्षकी महिला धौलागिरि अस्पताल आइपुगेको साताभित्रै निको भएर घर फर्केकी हुन् ।
उनको काखमा ११ महिनाको बालक छन् । बालक भएकोले कुरुवा बस्ने बेड पाउन नसकेपछि काठमाण्डौबाट ५० हजार खर्चेर ती महिला बागलुङ आएकी थिइन् । यहाँ आएपछि उनको परिवारका सदस्यले स्याहार गरे । उनको आत्मबल पनि बलियो भएपछि छिटै कोरोना जितिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->