
बागलुङ, १६ जेठ– वर्षासँगै आएको बाढी र पहिरोले खानेपानीका मुहान तथा पाईपलाईनमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी आपूर्ति बन्द भएको छ । बिहिबारदेखि शनिबारसम्म निरन्तर परेको वर्षापछि आएको बाढी र पहिरोले खानेपानीका मुहानहरुमा क्षति पु¥याएको हो ।
बागलुङ बजारका लागि खानेपानी ल्याईएका दुईवटै मुहानमा बाढी पहिरोले क्षति पु¥याएको छ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले काठेखोला गाउँपालिका–७ रेशको मुहानबाट ल्याएको पाईप पहिरोले बगाएको छ । रेशको जिरेदी नजिकैको भीरमा पहिरो खस्दा पाईप क्षतविक्षत भएकाले पानी अबरुद्ध भएको हो । पाईप मर्मतको काम चलिरहेकाले सोमवार बिहानसम्म पानी आउने संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।
रेशखोलाको मुहानबाट प्रतिसेकेण्ड १७ लिटर पानी आउने गरेको थियो । संस्थाले प्राविधिक जनशक्ति परिचालन गरेर मर्मतको काम गरिरहेको छ ।
काठेखोला गाउँपालिका–८ लेखानीको भूँदी खोलाको मुहानमा समेत बाढी पसेकाले पानी अवरुद्ध छ । लेदोसहितको पानी खानेपानीको पाईपमा पसेपछि पानी अवरुद्ध भएको हो । ‘हाम्रो प्रविधिले शुद्धिकरण गर्नै नसक्नेगरी हिलो पसेकाले धारामा पानी नपठाईएको हो’ शर्माले भने ‘भूँदीको पानी सफा भएकाले बिहानैदेखि संकलन ट्याङ्कीमा राखिएको छ, रेशको पानी आएपछि सबै धारामा पानी पुग्छ ।’ भूँदीखोला मुहानबाट पनि प्रतिसेकेण्ड १७ लिटर पानी आउने गरेको छ ।
संस्थाले बागलुङ बजारका झण्डै ४ हजार धारामा खानेपानी वितरण गर्दै आएको छ । तीन दिनदेखि पानी अवरुद्ध भएपछि बागलुङ बजारमा खानेपानी, सरफाई लगायतका कामका लागि पानीको अभाव भएको छ ।





