नवलपुर, १६ जेठ– नवलपुरमा आईतबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोतीका २ जना र गैंडाकोटका १ जना गरि तीन जनाको अस्पतालमा मृत्यु भएको हो । कावासोतीकी एक महिलाको आईतवार बिहान मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको छभने कावासोती कै एक र गैंडाकोटका अर्का एक पुरुषको मेडिकल कलेज अफ साइन्स (सिएमएस) भरतपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
जेठ ९ गते जिल्ला अस्पतालमा कोरोना पोजेटिभ देखिएकी कावासोती ३ की ५६ बर्षीया महिला ११ गते सिएमएस भर्ना भएकोमा पुनः गएराती जिल्ला अस्पतालमै भर्ना भएको मध्यविन्दु जिल्ला अस्पतालले जनाएको छ । तर, जिल्ला अस्पताल भर्ना भएको सात घण्टापछि ति महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै, बैशाख २६ गते कोरोना पुष्टि भएका कावासोती ८ कै ४१ बर्षका पुरुष र गैंडाकोट नगरपालिका वडा नं. १७ की ६० बर्षीया महिलाको भरतपुरस्थित सिएमएस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको हो ।
पछिल्लो विवरणमा थप ३ जनाको मृत्यु भएसँगै जिल्लामा बैशाखयता कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।





