
बागलुङ, १७ जेठ– होम आइसोलेसनमा बसेका कोरोनाका संक्रमित र शंकास्पद बिरामीको धमाधम मृत्यु हुने क्रम बढेको छ । यसरी मृत्यु भएकाको परिवारका सदस्यको समेत कोरोना परीक्षण हुन सकेको छैन ।
ढोरपाटन नगरपालिकामा परीक्षण हुन सकेको छैन भने बडिगाड गाउँपालिकामा खोजपड्ताल गर्दागर्दै पनि धेरै छुटेका छन् । अन्य पालिकामा पनि कन्ट्याक ट्रेसिङ भएको छैन । काठेखोला गाउँपालिकाले ढीलागरी घर घरमा खोजी अभियान थालेको अध्यक्ष अमर थापाले बताए । बागलुङ नगरपालिकामा पनि बजार क्षेत्रमा मात्रै खोजी अभियान चलेको छ । ग्रामीण बस्तीका वडामा अझै कन्ट्याक ट्रेसिङ नबढेको हो ।
पालिकाको अगुवाइमा टोल टोलमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई मात्रै पीसीआर गराइएको छ । सार्वजनिक सूचना जारी गर्दा पनि लक्षण भएकालाई मात्र बोलाइएको हो । स्वाब संकलन गरेको ७ दिनसम्म रिपोर्ट नआउँदा स्वाब दिएकाहरु पनि सुरक्षित रुपमा घरमा नबसेको भेटिएको स्वास्थ्यकर्मी नै बताउँछन् ।
‘स्वाब दिएपछि घरमा नबस्दा गाउँमा संक्रमण बढिरहेको छ,’ बडिगाड गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख चुडामणी कँडेलले भने, ‘कन्ट्याक ट्रेसिङका लागि छिटो रिपोर्ट आउने, जनशक्ति बढाउने र स्वाब दिएकाले घरमा बस्ने वातावरण चाहिन्छ ।’ समयमा रिपोर्ट नआएपछि ट्रेसिङ गरेर पनि सुरक्षित गर्न नसकिने उनले बताए ।
ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजारमै मृतकको घरमा समेत पीसीआर नभएको पीडितले बताए । मृत्यु भएका ३५ बर्षे युवाको घरमा बाबुआमा, छोराछोरी, काका र दिदीको समेत पीसीआर नभएको हो । रुघाखोकी लागेर बुबाको पीसीआर गर्न नसकेको मृतककी दिदी मनु कुँवरले बताइन् । ढोरपाटन नगरपालिकाको वडा नं १, २ र ३ रहेको बुर्तिबाङ बजारमा घर घरमै बिरामी रहेको उनले बताइन् ।
बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेपनि ७ जना जटिल समस्या भएका संक्रमित उपचार गरिरहेका छन् । रिपोर्ट नआएकालाई इमरजेन्सीमा राखेर उपचार गरिएको केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए । पीसीआर रिपोर्ट समयमा नआएपछि उपचारमा समेत समस्या भएको उनले बताए । यहाँ जेठ लागेपछि मात्रै कोरोना परीक्षण थालिएको हो । ढोरपाटन नगरपालिकामा कोरोनाको कारण ७ जनाले ज्यान गुमाइसकेका छन् ।
संक्रमितको समयमै पहिचान बढाउन एन्टिजेन्ट किट झिकाएर परीक्षण थालिएकोले अब भने समयमा पहिचान बढाएर उपचारमा ल्याउन सकिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए ।





