
शव सुरक्षित व्यवस्थापन नगर्दा घाट वरपर पिपिई, मेडिकल पञ्जा र शवलाई बाँधिएको डोरीको थुप्रो लाग्यो, दुर्गन्ध फैलियो ।
पोखरा, १७ जेठ– पोखरामा कोरोनाबाट मृत्यु भएकोहरुको शव व्यवस्थापन गर्न पोखरा ३२ तल्लो गगनगौंडास्थित सेतीघाटलाई तोकिएको छ । गत वर्ष असारमा कोरोनाबाट मृत्यु भएका एक पुरुषको शव व्यवस्थापन गर्दा स्थानीयले विरोध गरेका थिए ।
बस्ती नजिकै संक्रमितको शव व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयसहित जनप्रतिनिधि नै बाटोमा टायर बाल्दै विरोधमा उत्रिएका थिए । विवादले चर्को रुप लिँदै गएपछि भिड नियन्त्रण गर्न ८ राउन्ड हवाइ फायर नै गर्नु परेको थियो ।
महानगर र जिल्ला कोभिड नियन्त्रण समितिको छलफलसँगै अहिले स्थानीयले विरोध गर्न छाडेका छन् । त्यसयता उक्त घाटमा ४ सयभन्दा बढीको संख्यामा कोभिड संक्रमितको शव व्यवस्थापन भइसकेको छ । शव व्यवस्थापन गर्न नेपाली सेनाले जिम्मा लिएको छ ।
तर, पछिल्लो समयमा कोभिड संक्रमितको शव व्यवस्थापन गर्ने थलोको व्यवस्थापन नगर्दा भने स्थानीय फेरि रुष्ट बन्न थालेका छन् । सुरुमा संक्रमितको शव सुरक्षित रुपमा गाडेर व्यवस्थापन गर्ने सहमति भएपनि अहिले जलाउन सुरु गर्दा फोहोरको थुप्रो लाग्न थालेको उनीहरुको गुनासो छ ।
घाट वरपर अव्यवस्थित ढंगले पिपिई, मेडिकल पञ्जा र शवलाई बाँधिएको डोरीको थुप्रो लागेको र त्यसलाई सुरक्षित व्यवस्थापन नगरिएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । ‘पहिले गाड्नको लागिमात्रै भनियो । तर, अहिले आएर लापरवाही गर्न थाले । जलाउन थाले,’ उनले भने, ‘त्यहाँको फोहोर व्यवस्थापन गर्न महानगरले टिम पनि बनाएको छ । तर, काम भएको छैन ।’

घाटको फोहोर व्यवस्थापन गर्न महानगरले एक महिना अघि नै टिम बनाइसकेको र जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई पनि खबर गरिसकेको तर, कुनै कदम नचालिएको वडाध्यक्ष कार्कीको गुनासो छ ।
‘फोहोर थुप्रियो । दुर्गन्ध आउन थाल्यो भनेर मेयर सा’बलाई जानकारी दिएपछि टिम बनेको छ । एक महिना भइसक्यो, कामै भएको छैन,’ वडाध्यक्ष कार्कीले भने, ‘३ दिनअघिमात्रै सिडिओ सा’बलाई पनि लगेर देखाइसक्या छौं । उहाँले केही सोच्दै हुनुहुन्छ होला !’
आफूहरुले सुरुमा गाड्नमात्रै दिएको तर, अहिले आएर जलाउन पनि सुरु गरेको कार्कीले बताए । ‘बस्तीभन्दा टाढा गाड्ने भनेर स्थानीयले मानेका हुन् । जलाउने भए वडाले आआफ्नै वडाको घाटमा व्यवस्था गर्ने सहमति भएको पनि थियो,’ उनले भने, ‘हामीले विरोध गरेका होइनौं । त्यहाँबाट फोहोर र दुर्गन्ध हुनु भएन ।’
महानगर भन्छ ः जानकारी आएको छ, भोलि गएर हेर्छौं
शव व्यवस्थापन स्थानमा फोहोर थुप्रिएकोबारे आफूहरुलाई जानकारी आइसकेको र मंगलबार अनुगमनमा जाने तयारी रहेको महानगरले जनाएको छ । महानगरस्तरीय कोभिड नियन्त्रण मूल समिति संयोजक तथा उपप्रमुख मञ्जुदेवी गुरुङले शव धेरै हुँदा फोहोर जम्मा भएको हुन सक्ने बताइन् ।
‘फोहोरबारे थाहा छैन । तर, जानकारीचाहिँ आएको छ । लाशहरु धेरै भएर पनि फोहोर जम्मा भएको होला,’ महानगर उपप्रमुख गुरुङले भनिन्, ‘लाश गाडने ठाउँमा होइन, जलाउने ठाउँमामात्रै फोहोर थुप्रिएको हुन सक्छ ।’ उनले शव जलाउने ठाउँ खोला किनारमा भएकाले फोहोर जम्मा भएको हुन सक्ने बताइन् ।
महानगरले शव जलाउन अनुमति नदिएको गुरुङले जानकारी दिइन् । ‘शव गाड्नको लागि एउटा डोजर र २ वटा टिपरको व्यवस्था गरेका छौं । शव जति पुर्न निर्देशन दिएका हौं । के रहेछ भोलि (मंगलबार) हेछौं,’ उनले भनिन् ।





