बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संक्रमितको घरदैलोमा पुग्दै वेनीका जनप्रतिनिधि

संक्रमितको घरदैलोमा पुग्दै वेनीका जनप्रतिनिधि

‘बिरामीको घरमै पुग्दा कोरोना जित्न धेरै बल पुग्छ । हरेक बिरामीको दैनिक रुपमै सूचना लिने गरेका छौं ।’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७८, मंगलबार

बेनी, १८ जेठ – बेनी नगरपालिका-३ भकिम्लीमा कोरोना संक्रमणको दोस्रो लहरको रोकथाम र नियन्त्रणको अभियानकै क्रममा २ महिला स्वयंसेविका संक्रमित भए । कोरोना संक्रमति भएका स्वयंमसेविकाको अवस्था बुझ्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी सहितको टोली घरमै पुग्यो ।
गाउँका कोरोनाको सचेतनामुलक अभियानमा सक्रिय रहेको अवस्थामा संक्रमति भएपछि होम आइसोलेसनमा आवश्यक औषधिसहित स्वास्थ्य साम्रागी लिएर टोली आएको टोलीलाई आफ्नो अवस्थासँगै समुदायकै बारेमा जानकारी गराए । भकिम्लीकै छेपारेमा उमेरले ८० नाघेका ३ जना वृद्धवृद्धालाई भेट्न स्वास्थ्य साम्रगी लिएर टोली पुगेपछि उनीहरु उत्साहित भए ।
वडाभित्र कोरोना तीव्र गतिमा फैलिएपछि दैनिक बिरामीको अवस्थाका बारेमा जानकारी लिने, आवश्यकता अनुसारका सहयोग तथा जटिल समस्या देखिएमा तत्काल बेनीमा रिफर गर्ने गरिएको स्वास्थ्य चौकीकी सिनियर अनमी तारा घर्तीमगरले बताइन् । ‘बिरामीको घरमै पुग्दा कोरोना जित्न धेरै बल पुग्छ’, उनले भनिन्, ‘हरेक बिरामीको दैनिक रुपमै सूचना लिने गरेका छौं ।’
वडाभित्रका संक्रमतिलाई स्वास्थ्य साम्रगी उपलब्ध गराउने, नियमित अक्सिजनको अवस्थाका बारेमा जानकारी लिने तथा कुनै पनि समस्या भएमा तत्काल सहयोग गर्ने गरी अमेरिकामा रहेका भकिम्लीका यूवाहरुको सक्रियतामा एउटा मोटरसाइकल र जीप सहित १५ स्वयंमसेवक समेत परिचालन गरिएको वडाध्यक्ष पदम पुनले बताए । ‘जहाँ संक्रमति हुनुहुन्छ, त्यही हामीले स्वयंसेवक खटाएका छौं । हामीले कोरोनालाई नियन्त्रण गर्न सबै शक्ति परिचालन गरेका छौ’, अध्यक्ष पुनले भने ।
संक्रमितमध्ये जेष्ठ नागरिकलाई समस्या आउने भएकाले दिनको एकपटक स्वास्थ्यकर्मी र स्वयंमसेवक पुग्ने गरेका छन् । भकिम्ली स्वास्थ्य चौकीमा ठूलो अक्सिजन सिलिण्डर सहित आवश्यक उपकरणको ब्यवस्था मिलाइएको छ । अमेरिकाबाट प्राप्त सहयोगलाई स्थानीय अगुवा यूवा पूर्णबहादुर पुनको संयोजनमा वडामै पुगेर वितरण गरिएको छ भने अक्सिजनको अभाव भएकालाई तत्काल उपलब्ध गराउने गरी थप सिलिण्डरको खोजी भइरहेको संयोजनकर्ता पुनको भनाई छ ।
यसअगाडी बेनीबाट गएर चन्द्रकुमार केसी सहितको टोलीले स्वास्थ्य चौकीसँग समन्वय गरी संक्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको थियो । यता स्वास्थ्य चौकी इन्चार्ज धिरजकुमार शाहले २४ घण्टा सेवा दिइरहेको बताए । उहाँले कुनैपनि समस्या भएका बिरामीका बारेमा जानकारी पाएपछि घरमै र स्वास्थ्यचौकीमा सावधानी अपनाई उपचार गरिरहेको बताए । भकिम्लीमा ३३ जना सक्रिय संक्रमित छन् ।
निको हुनेको संख्या बढ्दै
कोरोना भाइरसको दोस्रो रहरको चपेटामा परेको म्याग्दीमा पछिल्ला ३ दिनयता कोरोना भाइरस संक्रमितको घट्दै गएको छ । वैशाख र जेठ महिनाको पहिलो सातासम्म उकालो लागेको संक्रमतिको संख्या शुक्रबारदेखि ओरालो लागेको छ ।
कोरोनाको लक्षण देखिएकाहरूको पिसिआर र एन्टिजेनका लागिसमेत स्वास्थ्य संस्थानमा जाने बिरामीको संख्यामा कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार पछिल्लो शुक्रबार ११ जना, शनिबार १ सय ८८ र आइतबार १५ जनाका कोरोना पुष्टि भएको छ ।
शुक्रबार ६३ जना, १ सय ८८ र आइतबार ७२ जनाले कोरोनालाई परास्त गरेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुवेदीले दिएको जानकारी अनुसार संक्रमतिमध्ये अधिकांश जिल्लाभित्रै गरिएको एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएका संक्रमति छन भने ५६ वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
सदरमुकाम बेनीसहित जिल्लाका स्थानीय तहमा समेत कोरोनाको लक्षण देखिएकाका बिरामीको संख्या घट्दै जान थालेको अवस्थामा पछिल्ला दिनमा जटिल समस्या भएका बिरामीको चाप समेत बेनी अस्पतालमा घटेकोे स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । म्याग्दीमा कोरोना संक्रमितको संख्या १८९५जना पुगेको छ । जिल्लामा २७९ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->