
बागलुङ, १८ जेठ– ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेला बेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको छ ।
बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन् । सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन् । कुनै उत्सव वा झैझगडा चलेर यहाँ यस्तो भएको भने होईन । अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई जानकारी छ‘ आत्मबल बढाउन सके रोगसँग लड्न सकिन्छ ।’ त्यसैले उनीहरुले कहिले पञ्चेबाजाका गीत लगाएर बिरामीलाई नाच्न लगाउँछन् त कहिले योगाभ्यास गराउँछन् ।
कोरोनाका बिरामीको लागि योगा महत्वपूर्ण हुन्छ । मरोञ्जन र शरीरमा उत्साह भर्ने क्रियाकलापले उनीहरुको शरीरलाई पूmर्ती तुल्याउने ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदीत थापा बताउँछन् । अस्पतालमा संगीतको राम्रो व्यवस्था मिलाईएको छ । बिरामीको रोजाई अनुसारका गीत बजाउने जिम्मेवारी भने स्वास्थ्यकर्मीको हो ।
‘एलोपेथिक र आयुर्वेदिक औषधि सबैको प्रयोग स्वास्थ्यकर्मीले प्रोटोकल अनुसार गरिरहनुभएको छ’ थापा भन्छन् ‘अहिलेसम्म यहाँबाट बिरामी बाहिर पठाउन परेको छैन्, उहाँहरु जान पनि मान्नु हुन्न ।’ योग, ध्यान र व्यायामले बिरामीलाई रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता विकास गर्न सहयोग गरेको थापाले बताए । आयुर्वेदिक पद्धती, योग, ध्यान र बिरामीले खाने खानाले पनि उनीहरुको प्रतिरक्षात्मक क्षमता बढाउन सहयोग गरेको उनले जानकारी गराए ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले कोरोना महामारीबारे सचेतना जगाउन धौलागिरी आयुर्वेद औषधालयलाई जिम्मेवारी दिएपछि औषधालयले रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा आयुर्वेद चिकित्साको उपयोगिता विषयक छलफल सुरु गरेको छ । छलफलमा सहभागिले आयुर्वेदिक औषधिको प्रयोगले बिरामीको उपचारमा सहज भएको बताए ।
बरेङ गाउँपालिकाले निर्माण गरेको अस्थायी कोभिड अस्पतालमा प्रमुख चिकित्सकको जिम्मेवारी डा. लक्ष्मी पन्थीले सम्हालेकी छिन् । पन्थीका अनुसार बरेङमा पनि ताराखोलामा जस्तै व्यायाम, आयुर्वेदिक औषधि र योग तथा मनोरञ्जनको व्यवस्थापन गरिएको छ ।
‘हामीले एक्ससाईज गराउने, वाफ लिने, आयुर क्वाथ र त्रिफला चुर्णको प्रयोग गरेका छौं, जसको नतिजा राम्रो आयो’ पन्थी भन्छिन् ‘स्वास्थ्यकर्मी नै कोभिड हुँदा गरिएको प्रयोगबाट नतिजा राम्रो भएपछि अहिले सबैलाई त्यसै गरेका छौं ।’ बरेङको अस्पतालमा भर्ना भएका बिरामीलाई दिनमा एक पटक आयुर क्वाथ दिने गरिएको छ ।
‘हाम्रो खोजीले के भन्छ भने मनोवल र युमिन सिस्टम बोष्टहोस भन्नेगरी साथीहरु काम गरिरहनुभएको छ’ धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा. सरोज कुमार रायले भने ‘योग र औषधिले क्षमता विकासमा सहयोग गरेको पाईयो ।’ भर्चुअल छलफलमा सहभागि भएका स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले कारोना रोकथाम तथा नियन्त्रणका लागि प्रयास धेरै भएको बताए । स्वास्थ्य मन्त्रालयले योगाभ्यासलाई रोगसँग लड्ने क्षमता विकास गर्ने विधि भनेकाले होम आईसोलेसनमा समेत योगाभ्यास गर्न सुझाए ।





