बागलुङ, १९ जेठ– कोरोना संक्रमणबाट बागलुङमा ४२ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये अधिकांश मध्यम उमेर समूहका छन् ।
अघिल्लो पटक जेष्ठ नागरिकहरुको मृत्यु भएकोमा यो पटक ५० देखि ६० बर्ष र केही युवाको समेत मृत्यु भएको हो । जेष्ठ नागरिकले खोप लगाएकोले यो पटक कम असर परेको देखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए । ‘सबै त्यही कारण त नभनौं, तर खोपले धेरैलाई बचाएको छ,’ उनले भने, ‘खोप लगाएको छु भन्नेलाई आत्मविश्वाससमेत पलाएको देखियो ।’
आत्मविश्वास राख्नेहरु ८० वर्ष काटेका पनि निको भएका छन् । ‘खोप लगाएको थिएँ । त्यसैले मलाई रोगले छोएन,’ बागलुङ नगरपालिका १२ की ८६ वर्षीय मतिकला आचार्यले भनिन्, ‘रोग लागेको भनेर डराउने होइन, धेरै खाने, आत्मविश्वास बढाउने हो ।’ उनले होम आइसोलेसनमै बसेर कोरोनालाई जितेकी थिइन् । उनले अन्य समस्याले पनि बिरामी भएर अस्पताल नबसेको बताइन् ।
काठेखोला गाउँपालिका ८ लेखानीमा पनि ८० काटेका ३÷४ जनाले कोरोना जितेको स्थानीय सूर्यप्रसाद कँडेलले बताए । ‘केही आमाहरु त संक्रमित हौ, घरमा बस भन्दापनि घाँसदाउरामा हिँडेका थिए,’ उनले भने, ‘लक्षणसमेत नदेखिइकनै उनीहरु निको भएका छन् ।’ बरु युवाहरुमै समस्या देखिएर धेरै दिन होम आइसोलेसनमा बस्नुपरेको उनले बताए । आत्मबल बलियो नबनाएकाहरु बिरामी भएर अस्पतालसमेत पुगेको उनले बताए ।
बागलुङमा अझै १ हजार बढी कोरोनाका सक्रिय संक्रमित छन् । तर, क्रमशः घरघरमै बसेकाहरुमा समस्या कम भएको स्वासथ्यकर्मी बताउँछन् । पश्चिम बागलुङको बडिगाड, ढोरपाटन लगायतको स्थानमा भने बढी समस्या देखिएको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
‘सामान्य समयमा आएको ज्वरो, खोकीजस्ता रोगविरुद्ध खाने औषधि अहिले प्रयोग गर्न मिल्दैन । परीक्षण नगरी औषधि दिँदा रियाक्सन भएर बिरामीको मृत्यु हुने खतरा छ ।’
यो पटक घर घरमा बसेका संक्रमितलाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी र अस्पतालका चिकित्सक समेत भेट्न गएर उचित परामर्श दिएकोले समेत निको भएको घिमिरे बताउँछन् । ‘घरमा बस्दा केही लापरवाही पनि भएका छन् । तर परिवारमा बसेर खानपिन गर्दा पनि रोग निको भएको भेटियो,’ उनले भने, ‘तर गाह्रो भएको थाहा पाउनासाथ अस्पताल पुग्नुपर्छ ।’ कतिपयले रोग लुकाएर राख्दा अन्तिममा मात्रै अस्पताल आउने र मृत्युवरण गर्नुपर्ने भएको पनि बताए ।
काठेखोलाको रेश, बडिगाडको रणसिंकिटेनी, जलजला जस्ता स्थानमा धेरैले समस्या लुकाएर बस्ने, समयमा खबर नगर्ने कारणले मृत्यु भएको थियो । ढोरपाटन नगरपालिकाले भने कोरोना परीक्षणनै ढीला गरेको थियो । ढिला हुँदा कतिपय मानिस घरमै बिरामी भएर बस्ने गरेका थिए । कोरोनाको कारणले देखिने लक्षणमा सामान्य समयझै औषधी चलाउन नमिल्ने धौलागिरिी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
‘सामान्य समयमा आएको ज्वरो, खोकीजस्ता रोगविरुद्ध खाने औषधि अहिले प्रयोग गर्न मिल्दैन,’ उनले भने, ‘परीक्षण नगरी औषधि दिँदा रियाक्सन भएर बिरामीको मृत्यु हुने खतरा छ ।’ त्यसैले बढीभन्दा बढी परीक्षणबाट मात्रै औषधी सेवन गर्नुपर्ने उनले सुझाए । साथै चिकित्सक र स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि नखानपनि उनले सुझाव दिएका छन् ।





