पोखरा, १९ जेठ – राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले गण्डकी प्रदेशसभा पनि विघटन गर्न खोजेको त हैन भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् ।
गण्डकी प्रदेशसभामा बुधबारको संसद् बैठकमा बोल्दै शाहीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रम नसमेटिएको भन्दै त्यस्तो आशंका व्यक्त गरेका हुन् । कतै यो संसद पनि विघटन गर्न खोजेको त हैन ?
केन्द्र सरकारले बजेट भाषणमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेजको घोषणा गरेको थियो । प्रदेशको बजेटको सिद्धान्त र प्राथमिकतामा पनि त्यस्तै खालको कार्यक्रम समावेश गरिएको छैन ।
‘केन्द्रको भाषणमा जसरी प्रदेशमा निर्वाचन क्षेत्र कार्यक्रम देखिएन । कि यहाँ पनि संसद विघटन गर्ने सोचमा छ सरकार ? त्यसो नहुन पर्ने हो ?’ शाहीले आफ्नो भनाई राख्दै बैठकमा भने ।
सरकार जोगाउन लागेको आरोप खेप्दै आएका सांसद शाहीले सरकारलाई समयमै विश्वासको मत लिन आग्रह पनि गरे । ‘यो प्रदेशमा सरकारको वैधानिकता उठिरहेकोबेला, सरकार पक्षले पनि विश्वासको मत लिन्छौँ भनेको बेला समयमै विश्वासको मत लिने प्रक्रियामा जान अनुरोध गरे ।
गतसाल बाढीपहिरोका कारण बागलुङको ढोरपाटन लगायतका क्षेत्रमा भएको क्षति र संरचना निर्माणमा विशेष ध्यान दिन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
केन्द्रीय बजेटमा आफ्नो गृहजिल्ला बागलुङका मेगाप्रोजेक्ट समावेश नभएको भन्दै सांसद शाहीले असन्तुष्टि जनाए । ‘हामी यतिबेला सरकार भत्काउने बनाउनेभन्दा पनि जनतालाई बचाउने तिर लाग्दा राम्रो हुन्छ । जनता मरे हामीले कहाँ के गर्ने ? सांसद शाहीले भने ।
२९ वैशाखमा ठूलो दलको नेताको हैसियतले पुनः मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले अबको १० दिनभित्र विश्वासको मत लिनुपर्छ ।





