बागलुङ, २० जेठ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं. २ का निवर्तमान सांसद देवेन्द्र पौडेलले गलकोटका २ पालिका सहित आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका छन ।
कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका आप्mनो निर्वाचन क्षेत्रका नागरिकको उपचारको लागि निवर्तमान सांसद पौडेलले गलकोट नगरपालिका अस्थायी कोभिड अस्पताल हरिचौरमा माक्स, स्यानिटाइजर, थर्मगन, गोलोब्सलगायत २८ किसिमका औषधी हस्तान्तरण गरेका छन ।
हस्तान्तरण गर्दै पौडेलले जनताको जीवन रक्षाका लागि आफू सधैं जनतामाझ रहेको बताउँदै आवश्यकता अनुसार थप स्वास्थ्य सामग्री पनि लिएर आउने बताए ।
उनले भने, ‘अन्य पालिकासँग छलफल एवम् आइशोलेसन निरीक्षणको काम भइरहेको छ, आवश्यकता अनुसार थप सामग्री फेरि ल्याउँछौं ।’
उक्त अवसरमा अस्पताका प्रमुख डाक्टर निक्सन डंगोलले कोरोना महामारीको समयमा संक्रमितको उपचारको लागि सहयोग गर्ने सहयोगदाताहरुको उदेश्य र मर्म अनुसार स्वास्थ्य सामाग्रीको सहि सदुपयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे । उनले अस्पतालमा आवश्यक सामाग्रीको सहयोगले उपचारमा सहयोग पुगेको बताए ।

हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागलुङका इञ्चार्ज वलावती शर्मा, गण्डकी प्रदेश सदस्य फमलाल निउरे, गलकोट नगरपालिका कार्यपालिका सदस्य कमला ढकाल, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।
यसैगरी ताराखोला अस्थायी कोभिड अस्पताल अर्गलमा पनि माक्स, स्यानिटाइजर, थर्मगन, गोलोब्स लगायत २८ किसिमका औषधी हस्तान्तरण गरिएको छ । त्यहाँ पुगेर उनले स्थानीय तहका जनप्रतिनिधीसंग अन्तरक्रिया पनि गरेका छन् ।

यस अगाडि कोभिड–१९ को महामारीका बेला सांसद पौडेल अत्यावश्यक स्वास्थ्य सामग्री लिएर बागलुङको पश्चिम क्षेत्र पुगेका थिए । उनले बुधवार तमानखोला अस्थायी कोभिड अस्पातालमा गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई र बडिगाड अस्थायी कोभिड अस्पतालमा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजालाई स्वास्थ्य सामग्री हस्तान्त्तरण गरे । अघिल्लो हप्ता निसीखोला अस्थायी कोभिड अस्पतालमा र ढोरपाटन अस्थायी कोभिड अस्पतालमा माक्स, स्यानिटाइजर, थर्मगन, गोलोब्स लगायत ३२ किसिमका औषधी त्यहाँका अस्पताललाई हस्तान्तरण गरेका थिए ।





