बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

महामारीमा मजुदरलाई आहात, युवाले बाँडे राहत

महामारीमा मजुदरलाई आहात, युवाले बाँडे राहत

सुनगाभा सहकारीको पनि स्वास्थ्य सामग्री वितरण अभियान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७८, बिहिबार

बागलुङ, २० जेठ – कोरोना महामारी नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा छ । घर बाहिर निस्किन कसैलाई दिइएको छैन् । जिल्लाका अन्य ठाउँमा निषेधाज्ञा हुनुपूर्वका ८ दिन बढी बागलुङको बलेवाबासीले घरभित्रै बसेर बिताए ।
बलेवाका तीन वडामा मात्रै त्यतिबेला निषेधाज्ञा लगाइएको थियो । प्रशासनले दिएको निर्देशन उल्लंघन भएको सूचनाका आधारमा जिल्ला प्रशासन र स्थानीय सरकारले पटक पटक बलेवा क्षेत्रमा अनुगमन गरिरहे । बेला बेलामा सशस्त्र र जनपथ प्रहरी परिचालन गरेर गस्तीसमेत भयो ।
लामो समय निषेधाज्ञा हुँदा दैनिक ज्याला मजदुरी गरेर खाने यहाँका सर्वसाधारणलाई समस्या आउन थालेका छन् । ‘म अपांगता भएको व्यक्ति, ममीले बोर्डिङ स्कुलमा काम गर्नुहुन्थ्यो, निषेधाज्ञा भएपछि कतैबाट केही पाउने कुरै भएन’ बागलुङ नगरपालिका–१२ अमलाचौरका कमल आचार्यले भने,‘छाक टार्ने उपाय चलाउन कठिन हुँदोरहेछ ।’ काम नचलेपछि काम गरेर बिहान–बेलुकाको खर्च चलाउनेहरु सबैभन्दा धेरै समस्यामा छन् ।
अघिल्लो बर्षको लकडाउन भएको तीन दिन नबित्तै राहत दिन तम्सिएका स्थानीय तहले यो वर्ष भने जिल्लाभर निषेधाज्ञा भएको एक महिना बित्नै लाग्दा समेत कहिँकतै राहत उपलव्ध दिएको सुनिँदैन । नजिकको सरकार र सरोकारवालाको बेवास्ताका कारण मजदुरहरु मर्कामा परेको बताउँछन् ।
निषेधाज्ञाको समयमा मजदुरलाई परेको समस्याका विषयमा कोही कसैले चासो नदेखाएको भन्दै बलेवाका युवाहरुले स्वःस्फुर्त राहत बाँड्न थालेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरका सविन पाठकको नेतृत्वमा युवाहरुले मजदुरका घर घरमा खाद्यान्न पुराउन थालेका हुन् ।
बुधबार युवाहरुले स्वस्फुर्त रुपमा खर्च गरेर अमलाचौरका १० परिवारको लागि खाद्यान्न वितरण गरेका छन् । पाठक भन्छन्, ‘तत्कालका लागि असाध्यै अफ्ठेरोमा परेकालाई राहत दियौं, अभियान जारी रहन्छ ।’ युवाहरुले दाल, चामल, नुन, तेल, मसलालगायतका सामग्री वितरण गरेका हुन् ।

सुनगाभा सहकारीको पनि स्वास्थ्य सामग्री वितरण अभियान

कोरोना महामारीसँग जुध्न बागलुङको एक सहकारी संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण अभियान थालेको छ । काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राममा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले वडा कार्यालयलाई स्वास्थ्य सामग्री उपलव्ध गराउँदै अभियानको थालनी गरेको हो ।
बुधबार संस्थाले वडा कार्यालयलाई माक्स, सेनिटाईजर, पिपिई लगायतका स्वास्थ्य सामग्री हस्तारन्तरण गरेको छ । काठेखोला गाउँपालिकाभित्र तिव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई रोक्न वडालाई सहज होस् भन्ने उद्देश्यले ३० प्याकेट मास्क, ५ थान पीपीई, र १ सय एमएलका ३० थान स्यानिटाइजर हस्तान्तरण गरेको संस्थाका अध्यक्ष गिरबहादुर पुनले जानकारी दिए ।
काठेखोला गाउँपालिका वडा नं.४ तग्रामको वडा कार्यालयमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामाग्री वडा अध्यक्ष केशरबहादुर थापालाई संस्थाका उपाध्यक्ष बिष्णुबहादुर थापा, सचिव टिका संगम बिक, कोषाध्यक्ष थिर बहादुर राना, सदस्य जीतबहादुर सुनार, दीपक थापा र प्रबन्धक जीवन पुनले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
संस्थाले आफ्नो स्थापना कालदेखि नै सामाजिक विकास र रुपान्तरणका लागि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कोभिड १९ अभियानअन्र्तगत बिहीबार काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा सामग्री बितरण गरिने सचिव बिकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->