पोखरा, २० जेठ – समुदायस्तरमा फैलिएको कोभिड १९ नियन्त्रण गर्न गठित प्रतिकार्य टोलीले काम थालेको छ । प्रदेशमा समुदायस्तरमा फैलिएको कोभिड १९ परीक्षण तथा व्यवस्थापनको लागि विशेषज्ञसहितको ३ वटा टोली गठन गरिएको छ । बागलुङ,पर्वत,म्याग्दी र मुस्ताङ हेर्ने टोलीको संयोजकमा स्वास्थ्य तालीमक केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारी संयोजक रहेका छन् । टोलीमा डा दिवाकर पराजुली, सोम शेरचन, उर्मिला बराल र नारायण त्रिपाठी सदस्य रहेका छन् ।
स्वास्थ्य निर्देशनालयका कम्युनिटी मेडिसिन डा ज्योति रानाभाटको संयोजकत्वमा नवीन कोइराला, संजय गुरुङ र मोहदत्त ढकालको समूहले कास्की, स्याङ्जा र तनहुँ जिल्ला र जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका डा परिवर्तन बरालको संयोजकत्वमा रक्षितता लामिछाने, विकाश रानाभाट र नानीबाबु दानीको समूहले लमजुङ, गोरखा, मनाङ र नवलपरासी (पूर्व) हेर्ने गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । बुधबार पोखराबाट हिँडेको टोलीले बागलुङ, गोरखा र लमजुङमा काम सुरु गरेको छ ।
गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले डाक्टर विनोदविन्दु शर्माको अध्यक्षतामा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि टोली गठन गरेको हो । यसअघि गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले समूहका सबै सदस्यहरुलाई सुरक्षित रुपमा कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।
डा शर्माले कार्यस्थलमा गर्नुपर्ने क्रियाकलाप, भूमिका तथा जिम्मेवारीको बारेमा समूहमा सहभागीलाई जानकारी गराएका थिए ।
बुधबार कोभिडबाट थप १३ जनाको मृत्यु
कोभिड–१९ बाट गण्डकीमा थप १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ४, स्याङ्जाका ३,तनहूँ र लमजुङ र गोरखाका २÷२ जना रहेका छन् । कोभिडबाट गण्डकीमा ७०७ जनाको मृत्यु भएको छ । पछिल्लो घण्टामा ८३८ जना संक्रमित हुँदा कुल सक्रिय संक्रमितको संख्या ९ हजार ९७९ जना पुगेको छ । तीमध्ये ९ हजार ७१ जना होम आइसोलेसनमा छन् । बुधबार १ हजार ३७२ जनाले कोरोना जितेका छन् ।





