बागलुङ, २० जेठ– प्रमुख जिल्ला अधिकारी सहित कोरोना संक्रमण रोकथाममा खटिनुपर्ने जिम्मा पाएकाहरुले उचित काम गर्न नसकेको भन्दै उत्तरदायी बनाउन माग गरिएको छ ।
बागलुङको सामाजिक अभियान्ताहरुको तर्फबाट चार जनाले रिट निवेदश पेश गर्दै उच्च अदालतबाट अन्तरिम आदेश समेत माग गरेका हुन् । स्वास्थ्य संकटको बेलामा राज्यका संयन्त्रहरु जागरुक भएर जनताको जिउधन सुरक्षा गर्नुपर्ने उनीहरुको माग छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङ, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला कोभिड संकट व्यवस्थापन समिति, धौलागिरि अस्पताल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेल लगायतलाइ बिपक्षी बनाएर मुद्दा दायर भएको अधिवक्ता राम शर्माले बताए । अधिवक्ता शर्मा, सामाजिक अभियान्ता साबित्री खड्का, पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कंडेल र पत्रकार मुकेश चन्द्र राजभण्डारीले बिहिवार रिट दर्ता गरेका हुन् । बिपक्षीको नाउँमा परमादेश माग गरिएको छ ।
बिशेष गरी नागरिकको स्वास्थ्य सुरक्षामा लापरवाही भएकोले संयम बन्नुपर्ने, हरेक प्रकारका रोगको उपचार गरिनुपर्ने, सम्मानपूर्वक बाँच्न पाउने अधिकार रक्षा गरिनुपर्ने समेतको माग गरिएको हो । त्यस्तै संक्रमित रोगबाट बच्ने अधिकार नागरिकले पाउनुपर्ने भन्दै त्यसमा राज्यका संयन्त्रहरु अझै सक्रिय बन्न नसकेको उनीहरुको ठहर छ । संविधान र कानूनले दिएको अधिकार समेत जनताले पाउन नसकेको भन्दै स्वास्थ्य उपचारको अधिकार, गुणस्तरीय सेवा पाउने अधिकार, र सूचनाको अधिकार समेतको संरक्षणमा आदेश माग गरिएको हो ।





