बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गाउँ फर्केर किसान बन्छु, समाजसेवा गर्छु: पदमुक्त सांसद थापा

गाउँ फर्केर किसान बन्छु, समाजसेवा गर्छु: पदमुक्त सांसद थापा

सांसदले खर्च गर्न पाउने सांसद विकास कोष यसबर्ष पनि निरन्तरता दिएको अर्थमन्त्री गुरुङले बताए ।


  • ढोरपाटन संबाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

कांग्रेसले देश बेचेको एउटा गाउँ मात्र हो ? गण्डकी बेचेको एउटा गाउँ मात्र हो ? देश बेच्न कांग्रेस होइन ? राष्ट्रघात गरेको मेरो गाउँमा मात्र हो ? देशभरि भ्रष्टाचार भएको छ अनियमितता भएको छ, घुसखोरी भएको छ । कांग्रेसको पालामा मेरो गाउँमा मात्र भएको हो र ?

पोखरा, २१ जेठ – गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेस नेतृत्वको सरकार बनाउने पार्टी निर्देशन उल्लंघन गरेका जनमोर्चा सांसद कृष्ण थापा संसदबाट निष्कासित भएका छन् । जनमोर्चाले पार्टी सदस्य समेत नरहने गरी थापालाई गरेको कारबाहीको जानकारी बिहीबार संसद सचिवालयलाई दिएको थियो । सभामुख नेत्रनाथ अधिकारीले उक्त सूचना बिहीबारै बसेको संसद बैठकलाई दिए । यससँगै बाग्लुङ क्षेत्र नं. १ (ख) बाट प्रत्यक्ष निर्वाचित थापाको सांसद पद गएको छ ।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि राष्ट्रिय जनमोर्चा सरकारको विपक्षमा उत्रिएको छ । त्यही सिलसिलामा गण्डकी सरकारलाई समर्थन जनाएको जनमोर्चाले पनि विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरेको थियो । जनमोर्चाको केन्द्रीय समिति बैठक र थापाकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले समेत मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने निर्णय गरेका थिए ।
पार्टी निर्देशन र आप्mनै अध्यक्षतामा बसेको संसदीय दलको बैठकको निर्णय उल्लंघन गरेको भन्दै जनमोर्चाले केन्द्रीय सदस्य थापालाई १ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो । यही निर्णय संसदमा दिएपछि थापाको सांसद पद गएको हो । राजनीतिक दल संवन्धी ऐन २०७३ मा दलको सदस्य त्याग गरेका वा निष्कासनमा परेका सांसदको सूचना संसद सचिवालयमा आएपछि यस्ता सांसद पद पनि रिक्त रहने उल्लेख छ । यो व्यवस्था संसद चलेको अवस्थामा सभामुखले सदनमा जानकारी गराएपछि लागू हुन्छ भने संसद नचलेको अवस्थामा सुचना टाँसेर जानकारी गराउनुपर्ने ऐनमा व्यवस्था छ ।
गण्डकी प्रदेश सभाबाट सदस्य निष्कासित भएको यो पहिलो घटना हो । प्रदेश सभा स्थापना भएको करिब ४ वर्षमा यसअघि कुनै सांसद निष्कासनमा परेका थिएनन् । दलीय अनुशासन उल्लंघन गरेको आरोपमा निष्कासित थापालाई यसअघि जनमोर्चाले संसदीय दलका नेताबाट समेत हटाएको थियो । उनलाई पार्टी निर्णय मान्न अन्तिम अवस्थासम्म प्रयास गरेपनि केही नलागेको जनमोर्चाकै अर्का सांसद पियारी थापाले बताइन् ।
‘पार्टीका नेताहरुले अन्तिमसम्म प्रयास गर्नुभयो’, उनले भनिन्, ‘उहाँले मान्दै मान्नुभएन, आजै कारबाही गर भनेर नेताहरुलाई भन्नुभयो, त्यसपछि नै उहाँलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।’ जनमोर्चाको केन्द्रीय सदस्यबाट साधारण सदस्य पनि नरहने र प्रदेश सभा सदस्यबाट निष्कासन भएसँगै थापाको ४५ वर्ष लामो राजनीतिक जीवन पनि धरापमा पुगेको छ ।
यद्यपि थापाले भने अब गाउँ फकेर खेती किसानी गर्ने प्रक्रिया दिएका छन् । संसदबाट निष्कासित भएपछि ढोरपाटनलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अब साधारण किसान भएर गाउँ फर्कन्छु, पहिले पनि किसान हुँ, अहिले पनि म किसानी नै गर्छु । गाउँका पीडित जनताले मलाई स्विकार्छन् होला !’
पार्टीले संसदबाट निकाल्ने निर्णय गरेको भन्दै उनले यसलाई इतिहासले मुल्यांकन गर्ने बताए । उनले भने, ‘कांग्रेसको सरकार नबनाइदिँदा आप्mनो पार्टीको सांसद हटाउनु इतिहासको साह्रै नमजा भयो । यसलाई पार्टी इतिहासले मुल्यांकन गर्छ ।’
आफूलाई कारबाही गरेको विषय पार्टी बैठकमा मात्र नभई अन्यत्र पनि ठूलो छलफल हुने र पार्टीले आत्मग्लानी गर्ने थापाले दाबी गरे । ‘मेरो विषयमा धेरै ठूलो छलफल हुन्छ । तपाईंले थाहा पाउनुहोला, नपाउनुहोला ! मलाई निकालेको विषयमा पछि पार्टीलाई आत्मग्लानी हुन्छ । कम्युनिस्ट पार्टी बनाउने हो भने । होइन, कांग्रेसको, मधेसवादीको, साम्राज्यवादीको, सामन्तवादीको सेवा गर्ने हो भने मात्रै छलफल, कुराकानी नहोला,’ उनले भने ।
संसदबाट हटाउने पार्टी निर्णयविरुद्ध अदालत जाने तत्काल निर्णय नगरेको उनले बताए । अदालत जानेबारे विचार गरिरहेको उनको भनाइ छ । कांग्रेसले गाउँका साधारण जनतालाई दुख दिएकाले कांग्रेसको पक्षमा जान आफूलाई मनले नमानेको उनले बताए । ‘गाउँका सबै जनताको पेटभित्र कांग्रेसको छुरा रोपिएको छ,’ उनले भने, ‘मैले कांग्रेसलाई जिताएर जान यो मनले मानेन ।’
पार्टीले गरेको कारबाही प्रति इंगित गर्दै थापाले गाउँमा समाजसेवी भएर बस्ने बताए । उनले भने, ‘अब पार्टीको राजनीति यो वर्ष गर्न नपाइने भयो । सकिएछ भने गाउँ गएर समाजसेवी काम गरिएला नि ।’
पार्टीले कारबाही फिर्ता ग¥यो भने सक्रिय भएर लाग्नेसमेत उनले बताए । उनले मन्त्री हुन जाने, एमालेमा जाने, बिकेको लगायतका आरोप पार्टी नेतृत्वले लगाएको भन्दै नेतृत्वले द्वेध चरित्र देखाएको बताए । ‘नेताहरुले के के भनेका छन्, हेरिएको छ, यी पार्टीमा जिन्दगीभर लागियो, अरु पार्टीमा जादिनँ,’ उनले भने, ‘हामी पहिला पनि सरकारमा नजाने निर्णय गरेका थियौं, अहिले पनि जादिनँ ।’ गाउँका जनताले कांग्रेसलाई समर्थन नगर्न आफूलाई दबाब दिएको र जनताले भनेको मानेको उनको दाबी छ । कांग्रेसले विगतमा देश बेचेको भन्दै उनले पार्टी अध्यक्ष चित्रबहादुर केसीले कुण्ठित सोचाइ राखेको आरोप लगाए ।
‘कांग्रेसले देश बेचेको एउटा गाउँ मात्र हो ? गण्डकी बेचेको एउटा गाउँ मात्र हो ? देश बेच्न कांग्रेस होइन ? राष्ट्रघात गरेको मेरो गाउँमा मात्र हो ? देशभरि भ्रष्टाचार भएको छ अनियमितता भएको छ, घुसखोरी भएको छ । कांग्रेसको पालामा मेरो गाउँमा मात्र भएको हो र ? हिजो उहाँ (चित्रबहादुर केसी)ले ‘गिरिजा, भारततिर फिरिजा’ भनेको होइन ? अनि कसरी उहाँले मेरो गाउँका जनताले मात्र भनेको भन्नुहुन्छ ? त्यो उहाँको कुण्ठित सोचाइ हो, न्यारो सोचाई हो न्यारो सोचाइ’, उनले भने ।
बैशाख ११ गते जनमोर्चा संसदीय दलको बैठकले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरे पनि कांग्रेस नेतृत्वको सरकार बनाउन हस्ताक्षर गर्ने निर्णय नगरेको उनले बताए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिएपछि त्यो स्थिति समाप्त भएको भन्दै त्यसपछाडि नयाँ परिस्थिति आएको र कांग्रेस नेतृत्वमा सरकार बनाउने कुनै निर्णय नगरेको उनको भनाइ छ ।
अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी र जनता समाजवादी गरी ३ दलका २८ जना सांसदले मात्रै हस्ताक्षर गरेको भन्दै जनमोर्चाले हस्ताक्षर गर्ने निर्णय नै नगरेको उनको दाबी छ । त्यतिबेला सांसद थापा जनमोर्चाको संसदीय दलका नेता थिए ।
जनमोर्चाकै अर्का सांसद खिमविक्रम शाही बिरामी भएर अस्पताल भर्ना हुँदा कांग्रेस र माओवादीले बिकेको आरोप लगाएको नेताहरुले त्यही पत्याएको बताए । ‘अहिले उहाँ (शाही) पुरस्कार दिँदै हिँड्नुभाछ’, थापाले भने, ‘पार्टीले जे भन्छ त्यही मान्छु भन्नुभएको छ ।’ आफूसँग सांसद शाहीले बिरामी भएको जानकारी गराएको र अरु कुरा आफुलाई थाहा नभएको उनले बताए ।
बाग्लुङ क्षेत्र नम्बर १ को प्रदेश सभा ख बाट प्रत्यक्ष निर्वाचित थापालाई निर्वाचनमा तत्कालीन नेकपाले समर्थन जनाएको थियो । थापाले आप्mनो गल्ती प्रति आत्मआलोचना गरेर सच्चिए भने पार्टी कारबाही छिट्टै फुकुवा हुन सक्ने जनमोर्चा नेताहरुले बताएका छन् । ‘उहाँ सच्चिनुभएछ भने पार्टीले कारबाही फुकुवा गर्न सक्ला तर उहाँ प्रति अविश्वास त रहने भयो नै’, जनमोर्चा सांसद पियारीले भनिन्, ‘पार्टीबाट निष्काशित भएका व्यक्तीहरुले उहाँलाई काध थापेका छन्, असल कार्यकर्ता उहाँसँग छैन ।’
सांसद कोष निरन्तरता दिन्छु– अर्थमन्त्री गुरुङ
प्रदेश सभामा अर्थमन्त्री किरण गुरुङले पेश गरेको आगामी बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएको छ । छलफलका क्रममा प्रदेश सांसदले उठाएका प्रश्नको बिहिबार अर्थमन्त्री गुरुङले जवाफ दिए । सांसदहरुले उठाएको सवालमा जवाफ दिँदै उनले सांसदले खर्च गर्न पाउने सांसद विकास कोष यसबर्ष पनि निरन्तरता दिएको बताए ।
उनले कोरोना भाइरस नियन्त्रण गर्न प्रदेश सरकारले प्रभावकारी काम गरिरहेको दाबी गरे । जिल्ला अस्पतालको क्षमता बढाएको र स्वास्थ्यकर्मीको पदपूर्तिका साथै करारमा थप जनशक्ति भर्ना गरेको जानकारी गराए । प्रदेशका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागरिक लगायत १ लाख बढीलाई खोप लगाएको र बाँकीलाई नेपाल सरकारसँग सहकार्य गरेर खोप अभियान चलाउने उनले बताए ।
उनले सामाजिक सुरक्षा भत्ता आन्तरिक आम्दानीबाटै दिएको भन्दै यसबाट बाह्य ऋण बढाएको भनेर भ्रम फैलाएको आरोप लगाए । मौजुदा रकम कम हुने भएकाले विगतको बर्षको भन्दा आगामी बर्षको बजेट कम हुने अर्थमन्त्री गुरुङले जानकारी दिए । सरकारले लिएको यसअघिका योजनाहरुलाई निरन्तरता दिने भन्दै उनले एक घर एक धारा, उज्यालो प्रदेश लगायतका कार्यक्रम निरन्तरता दिएको बताए । उक्त कार्यक्रमले अभुतपूर्व उपलब्धी हाँसिल भएको उनको दाबी छ ।
सांसदले प्रत्यक्ष योजना छनौट गरी खर्च गर्न पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई औचित्यका आधारमा निरन्तरता दिने जानकारी गराउँछु’, उनले भने, ‘भर्चुअल माध्यम र सदनबाट आएका सुझाव बजेटमा समावेश गराउने उनले प्रतिवद्धता गर्छु ।’ बजेटका सिद्धान्त र प्राथमिकतामा उक्त कार्यक्रम नआएको भन्दै सांसदहरुले प्रदेश सभा विघटन गर्ने मनसाय सरकारले राखेको आरोप लगाएका थिए । आगमाी बैठक जेठ २३ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->