बागलुङ, २१ जेठ– बाढी पहिरोबाट क्षति भएका घरहरुको पुननिर्माण तथा पुनस्थपनाका लागि जैमिनी नगरपालिकाले दोहोरो प्रक्रिया अघि बढाएको छ । संघ सरकारको कार्याक्रम कार्यान्वयन र नगरपालिकाले आफ्नै कार्यक्रम बनाएर पुननिर्माण र पुनस्थापनाको काम थालेको हो ।
संघ सरकारले क्षति भएका निजी आवास पुननिर्माणको लागि अनुदान उपलव्ध गराउने भनेपनि काममा ढिलाई भएको भन्दै नगरले आफ्नै कार्यक्रम ल्याएको हो । नगरको विपत् व्यवस्थापन कोषबाट बजेट परिचालन हुनेगरी निजी आवास पुननिर्माणका लागि सूचना गरेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । संघ सरकारको कार्यक्रम आउनुपूर्व घर बनाउन चाहनेलाई नगरले दुई लाख रुपैयाँ अनुदान दिने भएको छ ।
‘हामीले तत्काल घर बनाउन चाहनेलाई सरकारले तोकेको मापदण्ड अनुसार घरको नक्सा बनाएर अनुदानका लागि आउनु भनेका छौं’ इञ्जिनियर विवेक सापकोटाले भने ‘संघ सरकारको अनुदान आउनु पूर्व घर बनाउनेलाई नगरले दुई लाख अनुदान दिन्छ, बाँकी दुई लाख व्यक्तिले खर्च गर्नुपर्छ ।’ संघ सरकारले चार लाख रुपैयाँ अनुदान दिने छ । सोही कार्यविधिका आधारमा पुननिर्माण गरिने सापकोटाले बताए ।
‘घर निर्माणकै चरणमा माथीको अनुदान आए चार लाख रुपैयाँ लाभग्राहीले पाउँछन्, घर बनिसकेपछि भने प्रक्रिया सकिन्छ’ सापकोटा भन्छन् ‘नगरले दिएको अनुदानमा घर बनाउन कसैले खोजी गरेको पाईएको भने छैन ।’ बर्खा लागिसक्दा समेत संघ र प्रदेश सरकार समेतको साझेदारीमा सञ्चालन हुने अनुदान कार्यक्रम कार्यान्वयनमा आउन नसकेका कारण नगरले आफ्नै कार्यक्रम बनाएको हो ।
‘पीडितहरु समस्यामा हुनुहुन्छ, हामीले सकेसम्म तत्कालको समस्या टार्न खोजेका हौं’ नगरप्रमुख पौडेल भन्छन् ‘उहाँहरुलाई जे गर्दा सहज हुन्छ त्यही गर्नु भनेका छौं ।’ जैमिनीमा तत्काल निर्माण गर्नुपर्ने गरी ५६ घर भत्किएका थिए । केही घर प्रवलीकरण गर्नुपर्ने छन्भने केही घरपरिवारले थातथलो नै छोडेर तराईमा झरेका छन् । नगर आँफैले ठुलो खर्च गरेर पुननिर्माणमा लाग्न स्रोतको अभाव रहेको गुनासो नगरमा छ ।
संघ सरकारले बागलुङलाई विपत् ग्रस्त क्षेत्र घोषणा गरेकाले पुननिर्माण र पुनस्थापनाको कार्यक्रम आउने आशामा बस्दा निजी आवास निर्माणमा ढिलाई भएको पौडेलले बताए । सडक, भवनलगायतका अन्य पूर्वाधारमा समेत गत वर्षको वर्षामा क्षति पुगेको तथ्यांक नगरपालिकासँग छ ।





