बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बचेको खोप मात्रै छुटेकालाई…

बचेको खोप मात्रै छुटेकालाई…


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

बागलुङ, २१ जेठ– सरकारले आउँदो जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । सोही अनुसार खोप व्यवस्थापन समिति बागलुङले खोपको तयारी गरिरहेको छ ।
समितिले गरेको तयारी अनुसार यसअघिको खोप अभियानमा छुटेका जेष्ठ नागरिकले भने खोप पाउने छैनन् । ‘माथीबाट तोकिएको उमेर समुहलाई मात्रै हामीले यसपटक खोप लगाउँछौं’ समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले भने ‘जिल्ला भित्रिने खोपको डोज बचे माथी कुरा गरेर छुटेकालाई लगाउने हो ।’
यसअघि खोप लगाएका ६५ वर्ष माथीका जेष्ठ नागरिकले दोस्रो मात्रा खोप पाएका छैनन् । पहिलो चरणमा जेष्ठ नागरिकका लागि चलाईएको खोप अभियानमा छुटेकाको संख्या धेरै छ । खोप लगाउन छुटेकाको तथ्यांक तयार नभएपनि त्रासले खोप नलगाउने जेष्ठ नागरिकको संख्या धेरै रहेको स्वास्थ्य संस्थाहरुको आँकलन छ ।
पत्रकार महासंघ बागलुङले बिहिबार आयोजना गरेको ‘कोभिड–१९ र वर्तमान अवस्था’ विषयक छलफलमा कार्कीले कोभिड प्रतिकार्यका काम प्रभावकारी ढंगले भैरहेको भन्दै संक्रमणको दर घटेको दाबी समेत गरे । ‘बर्खा लाग्यो बाढी पहिरोले अक्सिजन ल्याउन अफ्ठेरो पर्ला की भनी स्काभेटर तयारी अवस्थामा राखेका छौं’ कार्की भन्छन् ‘निशेधाज्ञा पनि प्रभावकारी बनाउने र जाँच्ने र उपचार गर्ने क्रम चलिरहेकाले अब हामी ठुलो समस्यामा छैनौं भन्ने लाग्छ ।’
छलफलमा सहभागीले निशेधाज्ञा, होम आईसोलेसनको प्रभावकारिता, अस्पतालमा अक्सिजनको पर्याप्तता, एम्बुलेन्स र शव बहानको उपलव्धता लगायतका बिषयमा चासो राखेका थिए ।
छलफलमा सहभागी धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा. सरोज कुमार रायले योग र ध्यानबाट रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता विकास हुने भएकाले योग सम्बन्धि चेतना फैलाईरहेको जानकारी गराए ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्डको पालनमा मात्रै गर्दा संक्रमणदर घट्ने भन्दै सबैको ध्यान एसएमएस विधि पहिलेको र अहिलेको दुवैको प्रयोग आवश्यक रहेको बताए ।
धौलागिरी अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले अस्पतालले आवश्यकता अनुसार शैयाको थप गरेर बिरामीको उपचार गरेको दाबी गरे । ‘सिलिण्डरको अभाव छैन्, फिलिङमा पनि समस्या नआउला’ बिकले भने ‘अक्सिजनको पर्याप्तताका लागि प्लान्ट निर्माण गर्न टेण्डर आव्हान गरेका छौं, छिट्टै प्लान्ट निर्माण हुन्छ ।’ अस्पतालले दैनिक १ सय ५० जना बिरामीलाई पुग्ने र १ सय वटा सिलिण्डर भर्न मिल्नेगरी एक महिनाभित्रै अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा छ ।
छलफलमा पत्रकारहरुले निशेधाज्ञा र मजदुरको दैनिकीका बिषयमा चासो राखेका थिए ।
मजदुरलाई राहत र व्यवस्थापनको काम स्थानीय सरकारको भएको छलफलमा सहभागिले बताए । ‘अब थपिने निशेधाज्ञा केही खुकुलो हुन्छ, तर अझै केहि दिन संक्रमण बढीरहेकाले निशेधाज्ञा थपिन्छ’ प्रजिअ कार्कीले भने ‘सरोकारवाला सबैसँग सल्लाह भैरहेको छ, जेठ २२ सम्म निधोमा पुग्छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->