बागलुङ, २१ जेठ– बागलुङ नगरपालिका वडा नं. ४ की १६ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप लागेका चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतका श्रेस्तेदार सूर्य प्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागारमा र एक जना १५ वर्षिया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो । उनीहरुले गत वैशाख २३ गते राती बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरमा ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।
बलात्कारपछि किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन । प्रहरीका अनुसार बागलुङ नगरपालिका वडा नं. ४ का ३५ वर्षिय राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षिय गिरिजा भन्ने राजु कंडेल, ३२ वर्षिय दिनेश घर्ति क्षेत्री र २५ वर्षिय गोकुल पुनलाई पुर्पक्षको लागि कारागार पठाईएको हो ।
बागलुङ नगरपालिका वडा नं. ३ घर भएकी १५ वर्षिया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको छ । पर्वतको जलजला गाउँपालिका स्थायी घर भएका दिनेश घर्ती क्षेत्री बागलुङ नगरपालिकाको उपल्लाचौरमा बस्दै आएका थिए । उनीसहित अन्य तीन जना घटनामा संलग्न भएको उजुरीमा उल्लेख छ ।
विभिन्न प्रलोभनमा पारेर चार जनाले बलात्कार गरेको भन्दै किशोरीकी आमाले प्रहरीमा उजुरी दिएकी थिईन् । सरकारी वकिल कार्यालयले जेठ २ गते बागलुङ जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।





