
बागलुङ, २२ जेठ – सडक मानवहरुको उद्धार र स्याहार गर्दै आएको मानवसेवा आश्रम बागलुङ निषेधाज्ञाका कारण समस्यामा परेको छ । दाताहरुको सहयोगका आधारमा सञ्चालित आश्रममा निशेधाज्ञामा सहयोग आउन छोडेको हो । सहयोग गर्ने दाताहरु कोरोना संक्रमणको त्रासका कारण आश्रमको सम्पर्कमा आउन छोडेपछि सहयोग घटेको हो ।
दाताहरु आउन छोडेपछि आश्रम सञ्चालनमा हम्मेहम्मे परेको छ । ५५ जना महिला, बालबालिका तथा वयोबृद्धाहरुलाई आश्रय दिईरहेको आश्रमले दैनिक खर्च चलाउन समेत कठिन भएको आश्रमकि संचालिका सुमिरा लामाले बताइन् । आश्रममा दाल, चामल, नुन, तेललगायतका दैनिक उपभोग्य वस्तु सकिएका छन् । आश्रमको दैनिक संचालन खर्च गर्न नगदसमेत छैन ।
सञ्चित पुँजी नरहेको र सहयोग रोकिँदा आश्रम सञ्चालनमा समस्या भएको लामाले बताईन् । जन्मदिन, स्मृति दिवस र अन्य सामाजिक संघ संस्थाहरुको स्थापना दिवसका कार्यक्रम हुँदा आश्रमलाई सहयोग आउने गरेको थियो ।
निषेधाज्ञाका कारण कुनैपनि कार्यक्रमहरु सञ्चालन भएका छैनन् । वैदेशिक रोजगारमा रहेकाहरुले गर्ने सहयोग समेत रोकिएको छ । लामो समय सहयोग रोकिँदा भएको सञ्चितीसमेत सकिएको आश्रमले जनाएको छ ।
‘सहयोगी मनका धनी व्यक्तिहरूको कारण मानव सेवा आश्रम संचालन भइरहेको थियो,’ लामा भन्छिन्, ‘अहिले कोही आउनु भएको छैन, यहाँका लक्ष्मीनारायणहरुलाई खाना खाजा खुवाउन समेत समस्या भइरहेको छ ।’ स्थानीय व्यापारीबाट खाद्यान्न उधारो लिएर काम चलाएको लामाले बताइन् । आश्रममा रहेका ५३ जनालाई खोप लगाइएकाले संक्रमणबाट हुने क्षतिको त्रास भने कम छ ।





