बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वित्तिय संस्था खोल्दा सयौंको भीड

वित्तिय संस्था खोल्दा सयौंको भीड

बैंक खुल्ने थाहा पाएपछि ग्रामीण क्षेत्रदेखि पनि मानिस ओइरिएका थिए ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७८, आइतबार

बागलुङ, २३ जेठ– आइतबारदेखि वित्तिय संस्था खुलाउने डिसिसिएमसीको निर्णयले बजारमा भीड बढेको छ । आइतबार बिहान बागलुङका चोक चोकमा सामान्य समय जस्तै सयौं मानिसको भीड देखिएको थियो । कोरोना संक्रमणको कारण बजार क्षेत्रकै केही टोल सिल गरिएको छ ।
केही टोलमा भने भीड गर्दा संक्रमण रोकथाम गर्न कठिन हुने स्थानीयले बताए । ‘एक साता बैंक बन्द गरेर केही फरक पर्ने थिएन, बरु संक्रमणको चेन ब्रेक हुन्थ्यो’ बागलुङ उद्योग बाणिज्य संघका सदस्य गणेशराज लम्सालले भने, ‘फेरी संक्रमणको डर बढ्यो ।’ जेठ ३१ गतेसम्म निशेधाज्ञा बढाइएकोले उक्त दिनसम्म वित्तिय संस्था पनि बन्द गर्दा कोरोनाको लहर निकै घट्ने उनले बताए ।
बैंक खुल्ने थाहा पाएपछि ग्रामीण क्षेत्रदेखि पनि मानिस ओइरिएका थिए । नेपाल एसबिआइ बैंक, एभरेष्ट बैंक र प्रभु बैंकमा सबैभन्दा बढी भीड थियो । अन्यमा पनि धेरै मानिस कारोवारका लागि आएका थिए । ‘यो भीडले फेरी जोखिम बढायो’ स्थानीय हिरा शर्माले भनिन्, ‘खानकै समस्या भएकाले उधारो पनि लगेका थिए, पछि तिरेपनि हुन्थ्यो, तर यतिबेला बैंकमा भीड गर्ने अवस्था होइन ।’ अत्यावस्यक रकमका लागि बिहान ७ देखि १० बजेसम्म एटिएमहरु खुलेका थिए ।
बिरामी परेर गाडी रिर्जभ गर्नुपर्ने वा अन्य समस्या भएकाले एटिएमको प्रयोग गरेकोले सामान्य कारोवार रोकेको भए राम्रो हुने पत्रकार राजेशचन्द्र राजभण्डारीको भनाई छ । ‘बैंकमा काम परेर भीड गर्दा कोरोना नसर्ने, दिउँसो घरबाट निस्केर सर्ने त होइन नी’ उनले भने, ‘कामै नपरेकाहरु पनि भीड गर्न निस्कने प्रवृत्ति राम्रो भएन ।’ तरकारी पसलहरुमा पनि अनावस्यक भीड गर्ने, खाद्यान्न र निर्माण सामग्री भन्दै दैनिक सयौं जिप तथा ट्याक्टरहरु आउजाउ गर्दा बागलुङको संक्रमण न्युनिकरणमा असर परेको स्वास्थ्यकर्मीको भनाई छ ।
‘अहिले गाउँ गाउँमा बढी संक्रमण देखिएको छ, निशेधाज्ञा लगाएको गाउँबाटै दैनिक गाडी लिएर आउने बढी छन्’ जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले भने, ‘घर बाहिर जान नपरे हुन्थ्यो भन्ने हामीलाई बाध्यता छ, घरमै बसिदिनोस् भन्दा नमान्नेले संक्रमण फैलिएको छ ।’ निशेधाज्ञाको मान्यता अनुसार नचलेकोले संक्रमण नियन्त्रणमा नआएको उनले बताए ।
साता दिनसम्म सबै सेवा ठप्प पारिदिने हो भने संक्रमण नियन्त्रणमा आउने बागलुङ नगरपालिका वडा नं. २ का सदस्य अर्जुन घिमिरेको भनाई छ । शनिबार केही बस्ती सिल गरेभैm जिल्लानै सातादिनका लागि सिल गर्ने हो भने निसंक्रमणको अवस्थामा पुगिने उनले बताए ।
बिहानीपख तरकारी, दूध र अत्यावस्यक सामानका लागि भनेर खुलेको समय दुरुपयोग भैरहेको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरले बताए । ‘बिहान र बेलुकी डुल्ने, एक केजी तरकारीका लागि बजार घुम्ने प्रवृत्ती धेरै रहेछ’ पल्लीमगरले भने, ‘निशेधाज्ञाको बेला सामान किनेर राख्न नसक्ने कोही छैन, तर बाहना बनाउने धेरै छन् ।’ कडाइ गर्दा पनि जानेबुझेकाहरुले समस्या पारेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->