पोखरा, २३ जेठ – सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ । आइतवार न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।
अदालतले आदेशमा भनेको छ, ‘निजको सांसद पद नरहेमा निजको काम कर्तव्य र अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षतिसमेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निजको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरु तथा सो सम्बन्धी पत्राचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु, नगराउनू, निज निवेदकलाई प्रदेश सभा बैठकमा नियमितरुपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा वञ्चित नगर्नु, नगराउनू ।’
अदालतले जुन मितिमा ह्वीप जारी गरेको र थापाले उल्लंघन गरेको भनेर कारवाही गरिएको हो त्यसबेला मतदानको कुनै प्रयोजन नरहेको ठहर गरेको छ । आदेशमा वैशाख २७ गते हुने भनिएको मतदान कार्य मुख्यमन्त्रीको राजीनामा कारणाले हुन नसकेकोले परिस्थिति नै परिवर्तन भएकाले वैशाख २९ गते सरकार निर्माणको दावी पत्रमा थापाले हस्ताक्षर गर्नुपर्ने भनी जारी भएको ह्वीपले काम गर्न नसक्ने भनिएको छ ।
कुनै खास काम कारवाहीका लागि जारी भएको दलको निर्देशन सो खास कार्य हुन नसकी परिस्थितिमा परिवर्तन भएको स्थितिमा भएको कार्यबाट दल त्याग गरेको मानिने वा नमानिने भन्ने सन्दर्भमा गम्भीर कानूनी व्याख्याको प्रश्न भएको आदेशमा उल्लेख छ । त्यसैले यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म थापाको गण्डकी प्रदेश सभा सदस्य पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरू तथा सो सम्बन्धी पत्राचार, सूचना र जानकारी समेत कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको छ ।
आफु सांसदबाट पदमुक्त भएपछि थापाले जनमोर्चाको निर्णय खारेजको माग गर्दै शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए । जनमोर्चाले थापालाई दलबाट निष्कासन गरी प्रदेशसभालाई जानकारी गराएको थियो । प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले थापालाई उनको दलले कारबाही गरेको पत्र प्राप्त भएको जानकारी गराएपछि थापा पदमुक्त भएका थिए ।
थापाको पुनर्वहालीसंगै गण्डकी प्रदेशको राजनीति फेरी तरंगित भएको छ । यहाँको सत्ता समिकरणमा जनमोर्चा नै निर्णायक मानिएको छ । थापाले मुख्यमन्त्री गुरुङलाई साथ दिने वताउदै आएका छन् ।
यस्तो छ आदेशको पूर्णपाठ:







