बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

डेरी व्यवसायी भन्छन्ः ‘सहकारीले नै रोके किसानको भुक्तानी’

डेरी व्यवसायी भन्छन्ः ‘सहकारीले नै रोके किसानको भुक्तानी’

डेरी व्यवसायीहरुले सहकारीहरुले व्यवसायीको चरित्रहत्या गर्ने काम गरेको आरोप ।


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २४ २०७८, सोमबार
फाईल तस्विर

बागलुङ, २४ जेठ– बागलुङ र पर्वतका डेरी उद्योगीले किसानको भुक्तानी आफूहरुले नरोकेको दाबी गरेका छन् । सहकारीसँग खरिद गरेर दुध तथा दुग्धजन्य पदार्थको बिक्री गर्दै आएका डेरीले किसानको दुध संकलन गर्ने सहकारीहरुले भुक्तानी लिन चासो नदेखाएको बताए । सहकारीको बेवास्ताले किसानको भुक्तानी रोकिएको व्यवसायी दिपेश शर्माको आरोप छ ।
सहकारीहरुले दुधको भुक्तानी रोकिएपछि ढोरपाटनले समाचार प्रकाशन गरेको थियो । डेरी व्यवसायीहरुले सहकारीहरुले व्यवसायीको चरित्रहत्या गर्ने काम गरेको आरोप लगाए । ‘बैशाखदेखि दुध खाएको छैन, फागुन सम्मको भुक्तानी दिएको छु, बाँकी हिसाब नै भएको छैन,’ पर्वतको न्यु कालीगण्डकरी डेरी पसलका सञ्चालक शर्माले भने ‘हिसाब गरेर नआउने अनि पैसा आएको छैन भनेर किसानलाई भुक्तानी रोक्ने ?’
बागलुङको बलेवा क्षेत्रमा रहेका दुध उत्पादक सहकारीहरुको संयुक्त बिक्री केन्द्रले सम्झौता विपरित दुधको कारोवार गर्ने र व्यवसायीलाई दुख दिने गरेको उनीहरुको आरोप छ । लामो समयदेखि समझदारीमा दुधको कारोबार गरेपनि बिना जानकारी अन्यत्रै दुध बिक्री गर्न थालेपछि समस्या आएको उनको तर्क छ । ‘कारोबार रोक्नेपछि सबै भुक्तानी एकै पटक दिन सकिदैन,’ शर्मा भन्छन्, ‘हिसाब लिएर पैसा लिन आउनु प¥यो नि !’
समयमा दुध नल्याउने, बिना जानकारी कारोबार रोक्ने भुक्तानी गरेन भनेर व्यवसायीलाई आरोप लगाउने काम भएको अर्की व्यवसायी निर्मला आचार्य सुवेदीले बताइन् । बागलुङमा सञ्चालित अभिशेक डेरी पसलकी सञ्चालिका सुवेदीले संयुक्त बिक्री केन्द्रले व्यवसायीलाई दुख दिने नियत राखेको आरोप समेत लगाइन् ।
‘बिना जानकारी दुध रोकेपछि कसरी भुक्तानी दिनु, हामीले पनि अर्को व्यवस्था गर्नुपर्छ, केही समयको बाँकी होला बिस्तारै दिने भनेका छौं,’ सुवेदीले भनिन् । पर्वतको मोदीकाली डेरी उद्योगले भने कारोबार नै नगरेको संस्थाको नाम जोड्नु भ्रामक रहेको बताएको छ ।
संयुक्त बिक्री केन्द्रले भने भुक्तानी रोक्नकै लागि व्यवसायीहरुले बहानाबाजी गरेको दाबी गरेको छ । बिक्री केन्द्र र व्यवसायीहरुको किचलोका कारण सहकारीमार्फत दुधको कारोबार गर्ने किसानहरुले फागुनदेखिको दुधको भुक्तानी पाएका छैनन् । यहाँ उत्पादन भएको दुध बागलुङ र पर्वतका बिभिन्न दुध डेरीहरुले खरिद गर्दै आएका छन् ।
बागलुङको दक्षिणमा रहेका चारवटा दुग्ध उत्पादक सहकारीको साझा बिक्रीकेन्द्र गठन गरेर सहकारीहरुले दुध बिक्री गर्छन् । कालीगण्डकी, पल्लोपाखा, नवनमुना र बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाको सहभागिता रहेको बिक्री केन्द्र छ । सोही केन्द्र र व्यवसायीबिच विवाद भएपछि किसान मर्कामा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->