बागलुङ, २४ जेठ– गलकोट घर भई जापान लगायतका बैदेशिक रोजगारीमा रहेका युवाहरुले रकम संकलन गरेर बागलुङका विभिन्न स्वास्थ्य संस्थामा सहयोग गरेका छन् ।
कोरोना महामारीले ग्रस्त भएकोले जिल्ला भित्रका धौलागिरि अस्पताल, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेका हुन् ।
गलकोट समाज जापान, घुम्टे युवा परिवार जापान शाखा र हार्मोनी इन्टरनेशनल प्रिस्कुल टोकियोबाट धौलागिरि अस्पतालकै लागि स्वास्थ्य उपकरण सहयोग गरेका हुन् ।
उनीहरुले पीसीआर किट, एन्टिजेन्ट किट, अत्यावस्यक औषधी, पीपीइ लगायतका सामान सहयोग गरेका हुन् । घुम्टे युवा परिवारका संस्थापक राजबहादुर थापाको संयोजनमा खोजी र समन्वयपछि ती सामान आएका हुन् । क्यानडामा बस्ने बागलुङका देवेन्द्र महतको नेतृत्वमा संकलिन ४ लाख रुपैयाँबाट धौलागिरि अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर २ थान सहयोग गरेका हुन् । महत सहभागि भएको नेपाल हेरिटेज च्यारिटी फाउण्डेसन मार्फत संकलित सामान यहाँका अभियान्ता राम शर्माले अगुवाई गरेर ल्याएपछि आइतवार अस्पतालमा हस्तान्तरण भएको छ ।
जापानमै बस्ने यहाँका ३ युवाले एकलाख रुपैयाँ नगद पनि सहयोग गरेका छन् । बागलुङ नगरपालिका ८ सिगानाका प्रकाश खड्काको नेतृत्वमा राजेश खत्री र कृष्ण खड्काले संकलन गरेको नगद रकम पत्रकार राम थापाले अस्पतालका अध्यक्ष केवी रानामगरलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा अस्पतालका अध्यक्ष रानामगरले अस्पतालाइ सुविधा सम्पन्न बनाउने काममा सहयोग गर्नेलाई धन्यवाद दिए । साथै उनले भौतिक र दक्ष जनशक्तीको रुपमा पनि अस्पताललाई सक्षम बनाउने काममा सफलता मिल्दै गएको बताए । अस्पतालमा अत्यावस्यक उपकरण, सामान, औषधी र पीपीइ समेत संकलन भएको राना मगरले बताए ।





