बागलुङ, २४ जेठ– बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा कोरोना संक्रमितको घर घरमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय युवा तथा समाजसेवीको सक्रियतामा भकुण्डेका २१ संक्रमितलाई मास्क, सेनिटाईजर लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
कोरोना संक्रमण बढ्दो क्रममा रहेको र गाउँलाई प्रभावित हुन नदिन संक्रमितलाई स्वास्थ्य सामग्री उपलव्ध गराएको अभियान्ता उमाकान्त शर्माले बताए । ‘भेटेर उहाँहरुको आत्मबल बढायौं, सबै खुसी हुनुभयो’ शर्माले भने ‘मास्कको समेत अभाव रहेको खवरका आधारमा हामिले सामग्री पु¥याएका हौ ।’
प्रभु बैंकका सिईओ आशोक शेरचन लगायतका समाजसेवी गठन गरेको बागलुङ कोभिड क्राईसिस रेस्पोन्स टिमको सहयोगमा शर्मा र स्थानीय युवा बिजय थापाले सामग्री हस्तान्तरण अभियान चलाएका थिए । प्रत्येक संक्रमितलाई ५ सय मिलीलिटर स्यानिटाइजर र ५० थान माक्स वितरण गरिएको छ । बाँकी सामग्री स्वास्थ्य चौकी प्रमुख उमेश शर्वुजालाई हस्तान्तरण गरिएको शर्माले बताए ।
बागलुङ कोभिड क्राइसेस रेस्पोन्स टिमले ४५ हजार बराबरको सर्जिकल मास्क र सेनिटाइजर उपलव्ध गराएको थियो । गोबिन्द अधिकारी फाउन्डेसनबाट ३ हजार थान माक्स, धौलागिरी भेट सेन्टर बागलुङले ७ हजार, सचिन आयुर्वेद फर्माले ५ हजार, अञ्जली आयुर्वेद फर्माबाट २ हजार ५ सय, रामरेखाका महेन्द्र आचार्यले १० हजार र दर्शन होटेलसहितका संस्थाहरुले करिब १ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।





