धनगढी, २५ जेठ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता त्रिलोचन भट्टले आइतवार प्रदेश सभा बैठकमा विश्वासको मत पाएका छन् । विश्वासको मतको प्रस्तावको पक्षमा ३० जना सांसदले मत दिएका छन् । प्रस्तावको विपक्षमा ९ जना सांसदले मत राखेका छन्।
प्रस्तावको पक्षमा माओवादी केन्द्रका १३ र नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षका १७ जना सांसदले मत दिएका छन् । मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले निर्देशन दिएको थियो ।
एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले सरकारको विपक्षमा मत हाले । कांग्रेसले मतदानमा भाग लिएन । उ तटस्थ वस्यो । कांग्रेसका १२ जना सांसद छन् । बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित ५२ सदस्य छन्।
यस अगाडि प्रदेश सभा वैठकमा मुख्यमन्त्री भट्टले आफूलाई विश्वासको मत दिन सांसदसँग आह्वान गरेका थिए । बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका थिए । ‘सुदूरपश्चिममा ठूला-ठूला काम गर्नुपर्ने छ, यसका लागि संघीय सरकारसँग साझा संकल्पसहित सदनलाई एकतावद्ध गरेर अघि लिएर जान प्रतिवद्ध छु’ उनले भने ।
आफूले कुनै दल विशेषलाई नभएर सबैसँग मत मागेको उनको भनाइ छ । ‘म सभामुखमार्फत आग्रह गर्छु, सबैले मलाई विश्वासको मत दिनुस्,’ उनले भने, ‘म सबै माननीयहरूको सुझावका आधारमा साझा एजेन्डा बनाएर काम गर्नेछु ।’





