शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोभिड नियन्त्रणको सुक्ष्म योजना लागूगर्दै बागलुङका पालिका

कोभिड नियन्त्रणको सुक्ष्म योजना लागूगर्दै बागलुङका पालिका


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७८, मंगलबार

बागलुङ, २५ जेठ – कुनै घरमा कोरोनाका संक्रमित भएमा उक्त घरका सबै सदस्यको पीसीआर गर्नुपर्ने, उक्त घरबाट कोही पनि बाहिर ननिस्कदा चेनब्रेक हुने अभ्यासलाई कडाई गरिएको छ । साथै, उक्त अभ्यास खुकुलो भएकोले सरकारले नीतिगत रुपमै कोरोना नियन्त्रण सुक्ष्म योजनासमेत बनाएको छ ।
योजना अनुसार टोलका ७ घरमा संक्रमण देखिएमा गाउँ नै सिल गरिन्छ । उनीहरुको लागि खाद्यान्न र अत्यावस्यक सेवा सहयोग समूह र वडाले गर्ने व्यवस्था छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयमार्फत सुक्ष्म योजना लागू गर्न सबै पालिकालाई आग्रह गरेको हो ।
उक्त योजना अनुसार एउटा वडामा देखिने संक्रमितको संख्या १५ भन्दा बढी भएमा वडालाई नै सिल गरेर बाहिर जान आउन नदिने गरी योजना बनेको हो । यो योजना अनुसार केही पालिकामा कार्यान्वयनको काम सुरु भैसकेको छ । यसरी कार्यक्रम सुरु भएपछि कोरोना रोकथाममा सहयोग पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
घर घरमा कोरोनाका बिरामी र होम आइसोलेसनमा मृत्युको दर बढेपछि ल्याएको योजना कार्यान्वयन हुँदा संक्रमण घट्ने विश्वास लिइएको छ । बागलुङ नगरका केही स्थान, काठेखोला र बडिगाड गाउँपालिकाले यो योजनाको लागू गरिसकेका छन् । ताराखोलाले योजना आउनु अघिनै निगरानीमार्फत नियन्त्रणमा लिइरहेको छ । वडा अध्यक्ष र सदस्यको क्षेत्र विभाजन गरेर थप सदस्य समेत मनोनित गरेर निगरानी समूह बनाइ काम थालिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । वडामा बनेका समितिले वडा वडामै शव व्यस्थापन स्थल पनि बनाएका छन् ।
अस्पताल जानुपर्ने, सेनाले शव व्यवस्थापन गर्ने प्रवृत्तिलाई यो समितिले निरुत्साहित गर्नेछ । शव व्यवस्थापनमा खटिनेका लागि स्वास्थ्य कार्यालय र पालिकामार्फत पीपीई पनि उपलब्ध गराइने छ । सदरमुकामका केही मृतक परिवारले समेत यो विधि अनुसार सतगत गरेका छन् ।
नेपाल सरकारले पनि ‘कोभिड १९ सुक्ष्म अनुगमन कार्ययोजना’ बनाएको छ । उक्त योजना अनुसार शव व्यवस्थापन गर्दा अनावस्यक ढुवानी खर्च घटेको बडिगाड गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख चुडामणी कंडेलले बताए । होम आइसोलेसन प्रभावकारी नभएकोले संक्रमण फैलिएको आवाज उठेपछि योजना आएको थियो । सुक्ष्म योजना अनुसार शनिबारदेखि बागलुङकै उपल्लाचौरमा टोल सिल गरेर खोजी पड्ताल, उपचारमा सहयोग तथा कोरोनाको चेन ब्रेकको काम थालिएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।
सबै पालिकामा जेठ १६ गतेदेखि विकास योजना शुरु भएका छन् । काम भएकाहरुले फरफारक थालेका छन्भने बाँकी रहेकाले काम गरिरहेका हुन् । काम सकेपछि प्राविधिक र पालिका स्तरीय अनुगमन टोलीले अनुगमन गरेपछि उपभोक्ताको खातामा भुक्तानी दिने व्यवस्था गरिएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताए । योजना सम्झौता र फरफारकमा भीड लाग्ने क्रम रोक्दा संक्रमणको चेन ब्रेकमा पनि सहयोग पुग्ने सुझाव आएपछि सोही अनुसारको काम भएको गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->