बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भैलो र रत्यौलीबाट जम्मागरेको रकमबाट पदमार्ग निर्माण गर्दै राङ्खानीका आमाहरु

भैलो र रत्यौलीबाट जम्मागरेको रकमबाट पदमार्ग निर्माण गर्दै राङ्खानीका आमाहरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७८, बुधबार

बागलुङ, २६ जेठ– सवारी चल्ने सडक बन्नुपूर्व राङ्खानी गाउँभरी पदमार्ग थिए । स्थानीय भाषामा डहर भनिने पदमार्ग हिजोआज मासिएका छन् । सडक निर्माण र बाढी पहिरोका कारण मासिएका पदमार्गको पुन निर्माणमा कसैको ध्यान पुगेको छैन् ।
लामो यात्रा र टाढाको दुरीका लागि सवारीको प्रयोग भएपनि गाउँघरमा हिँडडुल गर्न सहज पदमार्ग चाहिन्छ । विद्यालय जाने बालबालिकाका लागि त गाउँघरमा अहिले पनि बाटो भनेकै पदमार्ग हो । जिर्ण पदमार्गको पुननिर्माणमा कसैको ध्यान नपुगेपछि बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीको जनजाती आमा समूह पदमार्ग पुननिर्माणमा जुटेको छ ।
दश वर्षअघि गठन भएको समुहमा जम्मा भएको संस्थागत बचत र देउसी भैलो तथा रत्यौली खेलेर जम्मा गरेको रकमले समुहले पदमार्ग पुननिर्माण थालिएको हो । समुहमा आबद्ध महिलाहरुले श्रमदान गरेका छन्भने दक्ष जनशक्तिका लागि समुहको पैसा खर्च भएको छ । ‘गाउँघरमा मेलापात गर्न कठिन, अझै बाबुनानी स्कुल जाँदा कता लड्छन् भन्ने त्रास हुने’ समुहकी सचिव यलु थापाले भनिन् ‘हामी आँफै कस्सिएर काम थालेका छौं, गाउँदेखि विद्यालय जाने बाटो बनाउने हो ।’
राङ्खानीको गाहाथरदेखि जनता माध्यमिक विद्यालय पाहीसम्म पदमार्ग निर्माण थालिएको हो । झण्डै डेढ किलोमिटर पदमार्गमा महिलाहरुले सिँढी निर्माण गर्ने योजना बनाएका छन् । पाँच सय मिटर तयार भैसकेको र बाँकी खण्ड समेत निर्माणको चरणमा रहेको थापाले बताईन् । राङ्खानीमा गठन भएको महिला समुहले विवाह, व्रतबन्ध, चौरासी पुजा, पास्नी लगायतका उत्सवका कार्यगर्दा समुहका लागि सहयोग उठाउने गरेको छ ।
महिनामा पाँच रुपैयाँ अनिवार्य जम्मा गर्नुपर्ने समुहको नियम छ । पाँच रुपैयाँमध्ये केही पैसा व्यक्तिको हुन्छ भने केही संस्थागत भन्ने नियम समुहले बनाएको छ । उत्सवमा जम्मा भएको रकम र महिनाबारी संस्थागत विकासका लागि जम्मा हुने रकमबाट दक्ष जनशक्तिका लागि पारीश्रमिक उपलव्ध गराएको थापाले बताईन् । ‘अहिले हामीसँग भएको रकम सकियो, स्थानीय सरकारलाई काम गर्ने पैसा देउ भनेका छौं’ थापाले भनिन् ‘पदमार्ग राम्रो हुँदा सबैलाई फाईदा हुन्छ ।’
दक्ष जनशक्तिका लागि आवश्यक बजेट मात्रै पाए समुहमा आबद्ध महिलाहरुले श्रमदान गरेरै लक्षमा पुग्ने उनले बताईन् । आमा समुहले थालेको कामका लागि आउँदो आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->