बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीको भकिम्लीमा आपत्कालीन कोष

म्याग्दीको भकिम्लीमा आपत्कालीन कोष

एकैदिन ६ लाखभन्दा बढी जुट्यो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७८, बुधबार

बेनी, २६ जेठ– कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी ३ भकिम्लीबासीले आपत्कालीन कोष स्थापना गरेका छन् । प्राकृतिक विपत्ति, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालीन समस्या परेका गाउँलेलाई दिर्घकालीन रुपमा सहयोग गर्ने गरी घोषणा गरेको कोषको पहिलो दिन ६ लाखभन्दा बढी जम्मा भएको छ ।
आइतबार स्वास्थ्य चौकीमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा जापानबाट पठाएको २ लाख ७४ हजार ५६१, मलेसियामा रहेका जयन्ती मावि भूपु विद्यार्थीहरुबाट १ लााख ८७ हजार ८८० र यूके, बेल्जियम र स्पेनबाट १ लाख ६५ हजार ७४० गरी आइतबार ६ लाख ३० हजार १८१ रुपैयाँ जम्मा भएको थियो ।
स्वास्थ्य चौकीकी सिनियर अनमी तारा बुढाथोकी, जयन्ती माविका शिक्षक भोजबहादुर जिसी, राजु पुन र पूर्णबहादुर पुनले वडा अध्यक्ष पदम पुन सहित वडा सदस्यलाई उ्रक्त सहयोग हस्तान्तरण गरेका थिए । सोही अवसरमा वडा अध्यक्ष पुनले प्रवासमा रहेका भकिम्लीबासीबाट सधै सहयोग जुटाउनुपर्ने अवस्थाको अन्त्य गर्न भकिम्ली राहत कोषको स्थापनाको अभियान सुरु गरेको बताए ।
‘कार्यविधि बनाएर अप्ठ्यारोमा परेका सहयोग गर्नेछौ,‘कार्यविधिले तोकेकालाई मात्रै कोषबाट सहयोग हुन्छ,’ अध्यक्ष पुनले भने । कोष स्थापना गर्न पहिलो चरणमा उठेको रकमलाई वित्तिय संस्थामा जम्मा गरिएको बताउँदै कार्यविधि बनाउन वडा सचिव प्रकाश आचार्यको संयोजकत्वमा स्वास्थ्य चौकीका इन्चार्ज धिरजकुमार शाह, सिनियर अनमी तारा बुढाथोकी, जयन्ती माविका शिक्षक भोजबहादुर जिसी र स्थानीय अगुवा यूवा पुर्णबहादुर पुन रहेका उपसमिति समेत गठन गरिएको छ ।
कार्यविधि तयार भएपछि प्रवासमा रहेका भकिम्लीबासीसँग भर्चुअल छलफलबाट अनुमोदन गरी प्रयोगमा ल्याउने जनाइएको छ । कोषले विपन्नको हरेक प्रकारको उपचारमा सहयोग, राहत तथा स्वास्थ्य संस्था तथा अस्पताल पुग्न नसक्ने गरिब विपन्न वर्गका यातायातको साधनको समेत व्यवस्था गरिने, अत्यावश्यक सामग्री खरिद लगायत विविध पक्षमा केन्द्रित हुने जनाइएको छ । भकिम्लीबासीले आपत्कालिन कोषलाई तत्काल २० लाख बनाउने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->