बागलुङ, २८ जेठ– कोभिड–१९ को उच्च जोखिममा रहेका एचआइभी पोजेटिभहरुलाई घर घरमै औषधि पु¥याउने व्यवस्था गरिएको छ । धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत (एन्टी रेक्ट्रो भाइरल) एआरभी औषधि नियमित सेवन गर्ने पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका बिरामीका लागि घर घरमा औषधि पु¥याउँदै आएको हो ।
अस्पतालको एआरटी सेन्टरमार्फत नियमित औषधि प्रयोग गर्ने २ सय ६२ जना एचआइभी पोजेटिभ छन् । औषधि सेवन गर्दै आएकामध्ये केहीले अस्पतालमै आएर औषधि लैजाने गरेका छन् भने अस्पताल आउन सम्भव नभएकाहरुलाई घर घरमै औषधि पु¥याइएको एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले बताए । ‘म औषधि बोकेर मुस्ताङ पनि पुगेको छु, पर्वतका कयौं ठाउँका पोजेटिभलाई औषधि पु¥याएको छु,’ आचार्य भन्छन्, ‘एकतर्फ नियमित सवारी नचल्दा उनीहरु आउन जान समस्या छ, अर्कोतर्फ संक्रमणको उच्च जोखिम ।’
सामाजिक बहिस्करणको त्रासले गोप्य रुपमा औषधिको प्रयोग गरेकाहरुलाई निषेधाज्ञाले अस्पताल आउन कठिन भएको उनले बताए । ‘अरु बेला अरु बहानामा आउनेहरु यो बेला घर बाहिर निस्कनै पाएका छैनन्, समाज सचेत नभएकाले उनीहरु खुलेर आउन सकेनन्,’ घरमै पुग्दासमेत लुकिछिपी औषधि लिएको अनुभव सुनाउँदै आचार्यले भने, ‘उनीहरुको कठिनाइबारे सरोकारवालाले सोच्नु पर्छ ।’
उनका अनुसार अहिले बागलुङ नगरपालिका र आसपासका पालिकाबाट अस्पतालमा औषधि लिन आउने गरेको भएपनि टाढा रहेकालाई कार्यालयले नै पु¥याउँदै आएको छ । यसका लागि आचार्यले निजी सवारीको प्रयोग गरेर औषधि पु¥याइरहेका छन् । नेपाल सरकार र साझेदार संस्थाहरुको सहयोगमा एआरटी सेन्टरमा औषधि आउने गरेको छ । ‘हामीलाई औषधिको अभाव छैन, निषेधाज्ञाका कारण पोजेटिभहरुलाई औषधि पु¥याउने चुनौती मात्रै छ,’ आचार्य भन्छन्, ‘मौसमी प्रतिकुलताले भने बेलाबेलामा दुख दिने गरेको छ ।’ मोटरसाइकलमा औषधि बोकेर टाढा टाढा पुग्दा बेला बेलामा हावाहुरी, बर्षा, हिलो र धुलोले सताउने गरेको उनले सुनाए ।
निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म प्रायः सबैका घरमा औषधि पुगेको छ । नजिकका भए एक महिनाको लागि र टाढालाई २ महिनाको लागि औषधि पु¥याइँदै आइएको उनले जानकारी दिए ।





